बैंकिङ पहुँचसँगै इजरायलमा हुन्डी कम

इजरायलमा कार्यरत नेपालीहरूले लामो समयदेखि हुन्डीमार्फत नेपालमा पैसा पठाउने गर्दै आएकामा अहिले उनीहरूको माध्यम बैंकिङ प्रणाली बन्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाको पहुँच र सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विभिन्न सुविधा दिन थालेपछि हुन्डीको विकल्प बैंकिङ प्रणाली हुन पुगेको हो । सन्राइज बैंक इजरायलका प्रतिनिधि अभिमन्यु दाहालले अहिले इजरायलमा कार्यरत नेपालीमध्ये धेरैले […]

सम्बन्धित सामग्री

४ हुन्डी कारोबारीलाई सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक भारतीय नागरिकसहित हुन्डी कारोबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अवैध विदेशी मुद्रा अपचलन गरेको, कसुरबाट प्राप्त सम्पत्ति बैंकिङ प्रणालीमा ल्याएर वैध बनाएको, कर छली गरेको लगायत आरोपमा विभागले नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।

चुनौतीको सामना गर्ने बैंकर आवश्यक: ग्राहक सेवामा किन अपेक्षित सुधार देखिँदैन ?

आजको विश्वमा कुशल बैंकरको यकीन परिभाषा दिन कठिन हुने भएता पनि जुन बैंकरमा गुणस्तरीय सेवा दिने क्षमता, भरपर्दो र विश्वसनीय कार्य, कुशल नेतृत्व, नवीन एवं दूरदर्शी सोच, रणनीति बनाउने क्षमता, यसको कार्यान्वयन र बदलिँदो वातावरणको सूक्ष्म अध्ययन, कर्मचारी उत्प्रेरणा एवं मुस्कानसहितको छरितो सेवा, अवसर र चुनौतीको सामना गर्ने दृढता आदि कार्यमा सफलता प्राप्त गर्न सक्ने खुबी छ त्यो नै कुशल बैंकर हो भन्नुमा अत्युक्ति नहोला ।  ठूलो आर्थिक मन्दीले पिरोलेको हाम्रो जस्तो मुलुक जहाँ जीडीपीको आकारको हाराहारीमा निक्षेप रहेको अवस्था छ, त्यहाँ कर्जा लगानी अपेक्षित हुन सकेको छैन । हाल ब्याजदर पनि अधिकांश बैंकहरूले घटाएको अवस्था छ भने कर्जा लगानी बढ्दै गरेको र पहिलो त्रैमासिक पूरा गर्दा नाफा पनि बढिरहेको छ । हालको निक्षेपको अवस्था हेर्दा ९ खर्ब बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम थुप्रिएको छ भने सीडी रेसियो ८१ दशमलव ७४ देखिन्छ । यसरी थुप्रिएको रकमलाई कुशलतापूर्वक उपयोग गर्ने र सीडी रेसियोलाई सन्तुलनमा राख्ने क्षमतावान् बैंकर आजको आवश्यकता हो ।  सबै बैंकरलाई थाहा छ नेपालमा खुला, उदार एवं बजारमुखी रणनीति अवलम्बन भएपछि वित्तीय क्षेत्रमा संख्यात्मक वृद्धि र कारोबारमा समेत वृद्धि भएको छ । एकातर्फ बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ तर बजार सीमित छ भने अर्कोतर्फ सम्भाव्य क्षेत्रसमेत साँघुुरो भएको हुँदा गुणात्मक वृद्धिमा जोड दिनुको विकल्प छैन । बैंकिङ पहुँच बढिरहेको, निक्षेप र कर्जामा सन्तुलनको अभाव रहेको, निष्क्रिय कर्जा बढिरहेको, पूँजी वृद्धि र मर्जरको व्यवस्थापन जटिल रहेको, नाफालाई दिगो राख्नु पर्ने, बैंकिङ ऐननियमको परिमार्जन र यसको कार्यान्वयनमा देखिएको जटिलतालगायत वर्तमान अवस्थालाई आत्मसात् गरी बैंक सञ्चालन गर्नु निश्चय पनि चुनौतीपूर्ण छ । तथापि बैंकप्रतिको अपनत्व, मित्रवत् व्यवहार, ग्राहकको आवश्यकताअनुसारको वस्तु तथा सेवाको प्रयोग, ग्राहकमैत्री सेवाको विकास, प्रविधिको विकास र यसको प्रयोग, कर्मचारी उत्प्रेणा, भरपर्दो ग्राहक पहिचान विवरण, वित्तीय साक्षरता र समावेशितालाई जोड दिने प्रवृत्तिले मात्र बैंकिङ क्षेत्र दिगो हुने कुरामा कसैको दुईमत नहोला ।  बैंक तथा वित्तीय संस्थाको हकमा निक्षेपकर्ता, ऋणी, सेवाग्राही, एजेन्ट आदि सबै ग्राहक हुन् । ग्राहक हुन वस्तु तथा सेवा, उत्पादक वा विक्रेता, प्राप्तकर्ता र मूल्यजस्ता पक्षहरू हुन जरुरी छ । सरोकारवाला, लगानीकर्ता र कर्मचारी आन्तरिक ग्राहक हुन् भने सेवा प्राप्त गर्ने व्यक्ति, फर्म, कम्पनी आदि बाह्य ग्राहक हुन् । तसर्थ परम्परागत रूपमा बैंकमा रहेका प्रोडक्ट ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने हिसाबले भन्दा पनि बैंकको प्रोडक्टअनुरूप ग्राहकले आफूलाई ढाल्नुपथ्र्यो, त्यो हुन सकेको छैन । आजकल बैंकहरूले ग्राहकको चाहनाअनुरूप आफ्ना प्रोडक्टहरू बनाउने गर्छन् । ग्राहक मैत्री बैंकिङका लागि ग्राहकको संस्कृति, जात, धर्म, प्रचलन, सामाजिक प्रतिष्ठा, सामाजिक व्यवहार, उमेर, जीवनशैली, पेशा, आर्थिक अवस्था, व्यक्तित्व, रुचि र ज्ञान, उत्प्रेरणा, सन्तुष्टि आदिलाई बुझेर बैंकिङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति नै कुशल बैंकर ठहरिन्छ । ग्राहक सेवा पनि भरपर्दो हुनुपर्छ पछिल्ला दिनहरूमा यस्तो प्रवृत्तिमा ह्रास देखिँदा ग्राहक सेवामा अपेक्षित सुधार कहिले ? भन्ने प्रश्न उठिरहेको अवस्था छ । व्यक्तिगत आचरण, अनुशासन, भ्रष्टाचार र सुशासनको अभाव, बैंकका सञ्चालक र मालिकहरूले दिने बढी दबाबका कारण देखिने मानसिक तनावले गर्दा बैंकरहरूको कार्यकुशलतामा ह्रास आएको देखिन्छ ।  बारम्बार देखापर्ने तरलताको अधिकता र न्यूनताले वित्तीय क्षेत्रलाई अस्तव्यस्त बनाएको देखिन्छ । तरलता कम हुँदा निक्षेप बढाउनुपर्ने चुनौती र बढी हुँदा उपयोगको चुनौती हुन्छ जसले अर्थतन्त्रको लागत बढ्न गई मागमा कमी आउँछ र अर्थतन्त्र थप धराशयी हुन्छ । यसरी तरलता व्यवस्थापनमा निकै कठिनाइको सामना गर्नुपरेको देखिन्छ ।  बैंक तथा वित्तीय संस्थाले हाल धेरै चुनौती र समस्या भोग्नुपरेको छ । नेपालको बैंकिङ क्षेत्रका केही चुनौती हेर्दा तीव्र प्रतिस्पर्धा छ जसले जोखिम र चुनौती दिनहुँ थपिरहेको छ । कमसल धितोमा कर्जा प्रवाह, नियम कानूनको पालनाको अभाव, जालसाजी, साइबर अपराधमा नियन्त्रणको कमी, कर्मचारी आचरणमा सुधारको कमीजस्ता संस्थागत सुशासनका पक्ष छन् । मानवीय साधनको समस्यातर्फ हेर्दा दिनहुँ बैंकको पेशा छोडी विदेश जानेको संख्या बढ्नु र दक्ष र अनुभवी कर्मचारीको कमी, राम्रो भन्दा हाम्रालाई प्रश्रय दिने परिपाटीलगायत देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू शहर बजार तथा सुविधा सम्पन्न क्षेत्रमा क्रियाशील हुन खोज्नु र विपन्न तथा विकट क्षेत्रमा हुने न्यून उपस्थितिले वित्तीय समावेशीकरणको समस्या देखिन्छ । राजनीतिक अस्थिरता र हस्तक्षेप, चन्दा आतंक, पूर्वाधारका विकास नहुनु, पूँजीगत खर्चमा कमी, उद्यमशीलताको अभाव र प्रतिभा पलायनले गर्दा लगानीमैत्री वातावरणको अभाव छ । बारम्बार देखापर्ने तरलताको अधिकता र न्यूनताले वित्तीय क्षेत्रलाई अस्तव्यस्त बनाएको देखिन्छ । तरलता कम हुँदा निक्षेप बढाउनुपर्ने चुनौती र बढी हुँदा उपयोगको चुनौती हुन्छ जसले अर्थतन्त्रको लागत बढ्न गई मागमा कमी आउँछ र अर्थतन्त्र थप धराशयी हुन्छ । यसरी तरलता व्यवस्थापनमा निकै कठिनाइको सामना गर्नु परेको देखिन्छ । निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर अझै देखिन्छ । यो पनि चुनौती हो । दक्ष कर्मचारीको अभाव र मर्मत तथा सम्भारमा हुने खर्चको वृद्धिले सूचना र प्रविधिको व्यवस्थापनमा समेत चुनौती थपिएको छ । प्रतिस्पर्धा उच्च हुनु, गुणात्मक ऋणको अंशमा वृद्धि नहुनु, परियोजनाको उचित विश्लेषणको अभाव, लागत बढी हुनु, क्षणिक नाफामा तल्लीन हुनु, कोभिड–१९ लगायत विश्व आर्थिक मन्दी एव सुशासनको अभावले खराब कर्जा बढ्दै गएको छ । यसले ऋण व्यवस्थापनमा समेत निकै कठिनाइको सामना गर्नुपरेको देखिन्छ । हुन्डी र ढुकुटी लगायत कानूनबाहिरको कारोबारले गर्दा छाया बंैकिङको प्रभावमा सुधार हुन सकेको छैन । लगानीको अवसर पर्याप्त नहुनुलगायत बैंकिङ क्षेत्रमा देखापरेका चुनौतीहरूको सामना गर्न सक्ने र यथोचित व्यवस्थापन गर्न सक्ने कुशल बैंकर आजको आवश्यकता हो ।  बैंकिङ क्षेत्रमा प्रशस्त अवसर नभएको पनि होइन । बैंकिङ क्षेत्रका अवसरहरूमा उदार अर्थ व्यवस्था, खुला बैंकिङ अवधारणा, नयाँ प्रविधिको विकास, उपभोग र मागमा परिवर्तन, संघीयता, सस्तो सञ्चालन लागत, अन्तरराष्ट्रिय बजारभन्दा सस्तो ब्याजदर, उच्च विप्रेषण, पर्याप्त नियम कानून, सस्तो मानव संसाधनको उपलब्धतालगायत अवसरको भरपुर उपयोग गर्न सक्नु नै कुशल बैंकरको परिचय हो । एक कुशल बैंकरले ग्राहक व्यवस्थापन गर्न र उनीहरूलाई खुशी तुल्याउन वस्तु तथा सेवा बजारमा ल्याउनुअघि राम्रोसँग अनुसन्धान र सर्भे गर्ने, ग्राहकको आवश्यकता, चाहना, मान्यता एवं आकांक्षामा आउने परिवर्तनको विश्लेषण गर्ने, सुझाव तथा गुनासोको सम्बोधन गर्ने, ग्राहक सम्बन्धका बारेमा तालीम प्रदान गरी कर्मचारीलाई ग्राहकमैत्री बनाउने, ग्राहकलाई शिष्टतापूर्वक स्वागत गर्ने, हँसिलो, सुमधुर, सरल स्वभावमा प्रस्तुत हुने, आवश्यकता र गुनासोको सही समाधान गर्ने सामथ्र्य नै ग्राहक सन्तुष्ट बनाउने आधार हो । त्यस्तै भौतिक पूर्वाधारको हकमा आकर्षक हेल्प डेस्क, उचित लोकेशन, ले आउट, डिजाइन, प्रतीक्षालय, आरामकक्ष, पिउने पानी, शौचालय आदिको उचित व्यवस्थाको साथै पत्रपत्रिका, टेलिफोन, नि:शुल्क इन्टरनेट सुविधाको व्यवस्था, सुझाव पेटिका आदिको व्यवस्थापन अपरिहार्य देखिन्छ । तसर्थ एक कुशल र व्यावसायिक बैंकरको परिचय दिन चुक्नु हुँदैन जसका लागि माथि उल्लिखित चुनौतीको सामना र अवसरको उपयोग नै सर्वोत्तम उपाय हो । तथापि बैंकिङ समस्या समाधानका उपायहरूमा सञ्चालन दक्षता बढाउने र लागत घटाउने, दीर्घकालीन नाफामा ध्यान दिने र व्यवसाय वृद्धिमा जोड दिँदै ग्राहक सन्तुष्टिलाई मुख्य आधार बनाउने, दक्ष र अनुभवी कर्मचारीको नियुक्ति, उत्प्रेरणा र रिटेन्सनमा जोड दिने, कर्मचारीको वृत्तिविकास, क्षतिपूर्ति र उनीहरूको समयअनुसारको तालिममा जोड दिने, आफ्नो सम्पत्तिको उचित व्यवस्थापनमा जोड दिने, निरीक्षण, सुपरिवेक्षण र अनुगमनलाई प्रभावकारी बनाउने, संस्थागत सुशासनको पूर्ण पालना गर्ने, सामाजिक दायित्व पूरा गर्ने, छाया बंैकिङलाई नियन्त्रण गर्ने, जनतामा बैंकिङसम्बन्धी जनचेतना जगाउने, वित्तीय समावेशिता र पहुँचलाई जोड दिने, खोज तथा अनुसन्धानलाई जोड दिने, जनतामा वित्तीय साक्षरतामार्फत बचत गर्ने बानीको विकास गर्ने, आन्तरिक सञ्चालनलाई चुस्त दुरुस्त बनाउने, ग्राहक सम्बन्ध विकास गर्न उनीहरूसँग नियमित अन्तरक्रिया गर्ने, निजी व्यावसायिक क्षेत्र र सरकारका अनुगमनकारी निकायसँग नियमित सम्पर्क बढाउने कार्यले मात्र दिगो बैंकिङको परिकल्पना गर्न सकिन्छ । तसर्थ बैंक तथा वित्तीय संस्थाका हरेक प्रबन्धकले उपर्युक्त कुराहरूमा खरो उत्री आफूलाई व्यावसायिक र कुशल बैंकरका रूपमा चिनाउन ढिला भइसकेको कुरामा कसैको दुईमत नरहला ।  लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

खैरो सूचीबाट बच्न आवश्यक

वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को खैरो सूचीमा पर्ने जोखिम बढेपछि सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने तयारी थालेको छ । वित्तीय कार्यदलले नेपालका केही कानूनी व्यवस्थामा सुधार नगरे खैरो सूचीमा राख्ने सम्भावना छ । यसरी खैरो सूचीमा राखेपछि विदेशी सहयोग र ऋण लिने बाटो बन्द हुनुका साथै विभिन्न वित्तीय कारोबारमा समेत समस्या हुन्छ । त्यसले अर्थतन्त्रलाई गम्भीर समस्यामा पार्न सक्छ । त्यसैले यसलाई जति सकिन्छ छिटो पारित गर्नु जरुरी देखिन्छ । पूर्ववर्ती सरकारले गत भदौ १७ गते केही ऐन संशोधन विधेयकमार्फत १६ ओटा ऐन संशोधन गर्न खोजेको थियो । त्यति बेला फास्ट ट्र्याकबाट त्यसलाई पारित गरिए पनि राष्ट्रिय सभाबाट स्वीकृति नभएपछि विधेयक अलपत्र परेको थियो । एफएटीएफअन्तर्गतको एपीजीले गत असारदेखि नेपाल सरकारले सम्पत्ति शुद्धीकरण हुन नदिन गरेको कामकारबाहीको मूल्यांकन गरिरहेको छ । उसले यसका लागि भएका कानूनी कमजोरीबारे प्रश्न उठाएपछि गत कात्तिक ७ गते सरकारले अध्यादेशमार्फत १६ ऐनमा संशोधन गर्न खोजेको थियो । तर, राष्ट्रपतिले अध्यादेश पारित नगरिदिएपछि नेपालमा एफएटीएफको खैरो सूचीमा पर्ने जोखिम रहेको छ । त्यही जोखिमबाट जोगाउन सरकारले अहिले संसद्बाट विधेयक पारित गराउन खोजेको हो । नेपालले सन् २००२ मा अवैध आर्जनलाई शुद्धीकरण गर्न नदिने गरी कानून र प्रणाली बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिबद्धताअनुसार काम नभए नेपाल खैरो सूचीमा पर्ने सम्भावना उच्च छ । मुलुक खैरो सूचीमा परे सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनी र संस्थागत व्यवस्था कमजोर भएको सन्देश जान्छ । यसबाट अन्तरराष्ट्रिय बैंकिङ कारोबारमा अवरोध पैदा हुन्छ, हुन्डी कारोबार बढ्छ र वैदेशिक सहायता र लगानी निरुत्साहित हुन्छ । यस्तो जोखिम हुँदाहुँदै पनि यससम्बन्धी कानून पारित हुन नसक्नु दुःखको विषय हो । संसद्को काम मुलुकलाई आवश्यक पर्ने ऐनकानून पारित गर्नु हो । राजनीतिक दलहरूबीच जति नै किचलो भए पनि मुलुकको अर्थतन्त्रलाई नै समस्यामा पार्ने गरी विधेयक पारित हुन नसक्नु निकै दुःखको विषय हो । अतः यो लगायत अन्य आर्थिक पक्षसँग जोडिएका संसद्मा रोकिएका सबै ऐनहरू छिटो पारित गरिनु आवश्यक छ ।

हुन्डीको मार

मुलुकमा एकातिर विदेशी विनिमय सञ्चिति घट्दै गएको छ भने अर्कातिर विदेशी मुद्रा भित्रिने सबैभन्दा ठूलो माध्यम विप्रेषण हुन्डीका कारण औपचारिक प्रणालीमा आउन सकेको छैन । आउटसोर्सिङमा काम गर्ने नेपालीले बुझ्ने विप्रेषण पनि अनौपचारिक प्रणालीबाट आउँदा मुलुकले विदेशी मुद्रा गुमाइरहेको छ । त्यसैले, विप्रेषणलाई बैंकिङ च्यानलबाट भित्र्याउन थुप्रै सुधार गर्नुपर्ने देखिन्छ । सरकारले विप्रेषणबापत भित्रिने रकम सहज र सस्तो तरिकाले ल्याउन सक्ने वातावरण बनाउनुपर्छ भने आउटसोर्सिङबाट आउने विदेशी मुद्रालाई पनि केही प्रोत्साहन दिएर सहज तरिकाले भित्र्याउनसक्ने अवस्था बनाइनुपर्छ । हुन्डी कारोबार गैरकानूनी हो । हुन्डी फस्टाउँदा भ्रष्टाचार बढ्नुका साथै अपराधका घटनामा वृद्धि हुन्छ । हुन्डी एक किसिमको आर्थिक अपराध नै हो । तैपनि विदेशमा काम गर्न जाने तथा अध्ययनलगायत काममा जाने नेपालीले हुन्डीबाट रकम पठाउन सहज मानिरहेका छन् । हुन्डीका एजेन्टले घरदैलो सेवा दिने, हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट भन्दा चाँडो हुने, पैसाको स्रोत खुलाउन नपर्ने तथा प्रक्रियागत झन्झट नहुने हुँदा नेपाली यसतर्फ आकर्षित भइरहेका छन् । हुन्डीबाट रकम आइरहेको तथा विदेशमा गइरहेको बारे सरकारी निकाय अनभिज्ञ पनि छैन । तर, यसलाई रोक्न र कारबाही गर्न भने ठोस पहल भइरहेको छैन । हुन्डीबाट रकम पलायन भइरहेको पनि छ । विदेशमा काम गर्नेले नेपाल पठाउने पैसा विदेशमा रहेको कुनै नेपालीलाई दिने र नेपालका आफन्तले कामदारका आफन्तलाई पैसा दिने गरेको पाइन्छ । यसबाट पैसा पलायन भइरहेको छ । अर्को, नेपाली म्यानपावर कम्पनी, गैरआवासीय नेपालीले अवैधानिक रूपमा हुन्डी व्यवसाय सञ्चालन गरेको पनि पाइन्छ । यसरी नेपालीले विदेशमा आर्जन गरेको रकम उतै रोकिने गरेको छ । त्यस्तै आउटसोर्सिङ, परामर्श इत्यादि कामबाट नेपालमै बसेर डलर आम्दानी गर्ने नेपालीले पनि पेपल आदिमा खाता खोलेर पैसा उतै जम्मा गर्न लगाउने र आवश्यक रकम विदेशमा बस्नेको आफन्तसँग लिएर हिसाब मिलाउने गरेका छन् । त्यस्तै विदेशबाट सामान आयात गर्ने व्यवसायीलाई डलर दिने र व्यवसायीबाट नेपालमा नेपाली मुद्रा प्राप्त गरेको देखिन्छ । एलसीबाट भन्दा यसरी सामान ल्याउँदा व्यापारीलाई फाइदा हुने भएकाले यस्तो प्रवृत्ति पनि बढ्दै गएको देखिन्छ । विदेशबाट नेपालमा पैसा पठाउँदा त्यहाँका कम्पनीले महँगो शुल्क लिने, यहाँको रेमिट्यान्स कम्पनीले पनि शुल्क लिने तथा हुन्डीका भन्दा कम दरमा सटही हुने भएकाले पनि नेपालीहरू हुन्डीबाटै विप्रेषण पठाउन सहज ठान्छन् । औपचारिक प्रक्रियाबाट पठाउन विभिन्न झन्झट भएकाले हुन्डीलाई रोजेको पाइन्छ । त्यसैले हुन्डीलाई रोक्ने हो भने औपचारिक माध्यमलाई सहज र सस्तो बनाउनुको विकल्प देखिँदैन । नेपालमा रोजगारीका लागि आउने विदेशीहरूले पनि औपचारिक प्रणालीबाट विप्रेषण कमै पठाएको पाइन्छ । त्यसमा पनि भारतबाट नेपालमा काम गर्न आउनेको संख्या र तिनले लैजाने विप्रेषणको ठोस तथ्यांक नै पाइँदैन । भारतमा काम गर्न जाने नेपालीहरूले ल्याउने विप्रेषण पनि अनौपचारिक माध्यमबाटै आउने हुँदा ठोस तथ्यांक पाउन नसकिएको हो । भारतबाट भित्रिने विप्रेषणभन्दा बढी रकम भारतीय कामदारहरूले नेपालबाट लैजाने गरेको अनुमान छ । औपचारिक माध्यमबाट विप्रेषण कारोबार हुने भए स्पष्ट तथ्यांक आउन सक्थ्यो र नीतिगत निर्णय लिन पनि सहज हुन्थ्यो । वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि तथा रोजगार गन्तव्य मुलुकमा कामदारहरूको तलब बढे पनि मुलुकमा भित्रिने विप्रेषणको रकम घट्दै जानुमा माथिकै कारण रहेको देखिन्छ । मुलुकको विदेशी विनिमय सञ्चिति बढाउन विप्रेषण रकम औपचारिक प्रणालीबाट ल्याउन सहज बनाइनुपर्छ । उनीहरूले चाहे सहजै विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था पनि गर्न सकिन्छ । त्यस्तै विप्रेषण औपचारिक प्रणालीबाट ल्याउँदा लाग्ने बढी शुल्कको भार कामदारहरूलाई नपरोस् भनी विकल्प दिइनुपर्छ । यूरोप अमेरिकामा काम वा अध्ययनकै सिलसिलामा पुगेका नेपालीहरूलाई त्यहाँ कमाएको पैसा औपचारिक प्रणालीबाट नेपाल पठाउन प्रोत्साहित गर्नुपर्ने देखिन्छ । त्यहाँबाटै नेपालमा लगानी गरी उच्च प्रतिफल पाइने सम्भावित क्षेत्र उपलब्ध गराउन सके विप्रेषण रकम बढी भित्रिन सक्छ । यसरी सरकारले विप्रेषणवापत भित्रिने रकम सहज र सस्तो तरिकाले ल्याउन सक्ने वातावरण बनाउनुपर्छ भने आउटसोर्सिङबाट आउने विदेशी मुद्रालाई पनि केही प्रोत्साहन दिएर सहज तरिकाले भित्र्याउनसक्ने अवस्था बनाइनुपर्छ । यसो गर्न सके हुन्डीको कारोबार घट्दै जान सक्छ ।

संकटमोचनको उपाय : विप्रेषण वृद्धि

विदेशी मुद्रा सञ्चितिमा निरन्तर आइरहेको संकुचनले यतिखेर नेपाल कतै श्रीलंकाको बाटोमा अर्थात् संकटतिर लागिरहेको त छैन भन्ने त्रास फैलिएको छ । श्रीलंकासँग विदेशी मुद्रा नहुँदा उसले इन्धनदेखि कागजसम्म किन्न सकेको छैन, जसले गर्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै छ । नेपालसँग कुनै बेला १२/१३ महीनासम्म वस्तु तथा सेवा खरीद गर्न सक्ने विदेशी मुद्रा सञ्चिति हुन्थ्यो । त्यो अहिले घटेर करीब आधा भएको छ । खर्चको तुलनामा आय वृद्धि हुन नसकेका कारण कतै विदेशी मुद्रा सञ्चितिको अवस्था अझै तल झर्ने त होइन भन्ने चिन्ता अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका अधिकारीहरूमा देखिन्छ । कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउँदा विप्रेषण बढ्यो तर अहिले विदेश जानेको संख्या बढ्दै जाँदा किन घट्यो, सबभन्दा पहिला यसबारे अध्ययन हुनुपर्छ । यही कारण उनीहरू कहिले कुन वस्तुको त कहिले कुन वस्तुको आयातमा कडाइ गर्ने योजना अघि सार्दै छन् । हुँदाहुँदा काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले विलासी वस्तुको आयात जथाभावी नगर्न आग्रह नै गरे । यसले स्थिति गम्भीर अवस्थामा पुगिसकेको त होइन भन्ने प्रश्न उब्जाएको छ । कोरोना महामारीपछि नेपालको विदेशी मुद्रा आयको प्रमुख माध्यम विप्रेषण भएको छ । कोरोना महामारीले पर्यटन क्षेत्र थला परेपछि एकलौटी काँध थापेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै सुधार हुन नसकेपछि सत्ताको नेतृत्व गर्नेहरू आत्तिएको देखिन्छ । यो स्वाभाविक हो । अर्थतन्त्रलाई सबल बनाइराख्न सचेत र चनाखो हुनैपर्छ । तर, यतिखेर सरकारी अधिकारीहरूको निर्णय र काम गराइको तरीका देख्दा लाग्छ उनीहरू समस्याको चुरोमा पुगेका छैनन् वा टालटुले नीतिमा रमाइरहेका छन् । अहिलेको मुख्य समस्या भनेको विदेशी मुद्रा सञ्चिति घट्दै जानु हो । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि यसलाई वृद्धि गर्ने योजना र कार्यक्रम चाहिन्छ । सरकारसँग विदेशी मुद्रा आर्जन गर्ने बाटो बन्द भएको छैन । यदि विदेशी मुद्रा आय हुने बाटो बन्द भएको भए अल्पकाललाई भए पनि आयातमा कडाइ वा अन्य नियन्त्रणकारी उपाय उपयुक्त मान्न सकिन्थ्यो । सरकारी अधिकारीहरूको व्यवहार र काम हेर्दा लाग्दै छ, उनीहरू थप काम गर्न चाहँदैनन् । उनीहरूको विकल्प जसरी हुन्छ नियन्त्रणको पक्षमा देखिन्छ । अर्थतन्त्रका लागि यस्तो नियन्त्रण थप समस्या हुनसक्छ भन्ने पाटो जिम्मेवार तहमा रहेकाले बुझेको देखिएको छैन । गाडी तथा विलासिताका वस्तुको आयात रोकिँदा राजस्व कम उठी भोलि कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आउन सक्छ भन्नेमा सरकारी अधिकारीको ध्यान गएको देखिँदैन । केन्द्रीय तथ्यांक विभागले २ महीनाअघि प्रकाशित गरेको विवरणअनुसार यतिखेर विदेशमा बसोवास गर्ने नेपालीको संख्या करीब २२ लाख छ । केही महीनायता वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले अहिले यो संख्या बढेर २५ लाख हाराहारी पुगेको होला । तर, उनीहरूले यतिखेर बैंकिङ च्यानलबाट पठाइरहेको विप्रेषण प्रतिमहीना औसत ७७ अर्ब रुपैयाँ हाराहारी छ । चालू आवको ७ महीनामा वैदेशिक रोजगारीमा गएका नेपालीले ५ खर्ब ४० अर्ब रुपैयाँ विप्रेषण पठाएका छन् । यो गतवर्षको सोही अवधिको तुलनामा ४ दशमलव ९ प्रतिशतले कमी हो । आव २०७७/७८ मा वैदेशिक रोजगारीमा गएका युवाले ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण बैंकिङ च्यानलमार्फत पठाएका थिए । विप्रेषण वृद्धिका लागि गर्नुपर्ने काम कोरोना महामारीका बेला वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउँदा विप्रेषण बढ्ने तर अहिले विदेश जानेको संख्या बढ्दै जाँदा किन घट्यो, सबभन्दा पहिला यसबारे अध्ययन हुनुपर्छ । विप्रेषणमा कमी आउनुमा राज्य संयन्त्रबाट लाभ लिइरहेका व्यक्तिहरूको नै हात रहेको चर्चा चल्ने गरेको छ । खासगरी हुन्डी र क्रिप्टोकरेन्सीमा नेपालीलाई लगाउने कार्य बढ्दा विप्रेषण आय घटेको सतही अनुमान सरकारी अधिकारीहरूको छ । यदि हुन्डीमार्फत विप्रेषण भित्रिने गरेको छ भने त्यसलाई नियन्त्रण गर्ने वा बैंकिङ च्यानलमार्फत भित्र्याउन नियम, कानून बनाउने जिम्मेवारी सरकारको हो । उसलाई यसो गर्न कसले रोकेको छ ? आयातमा कडाइ गर्ने वा विलासी वस्तु खरीद नगर्न आग्रह गर्ने उच्च पदस्थ व्यक्तिले खोइ विप्रेषणलाई वैधानिक तवरले भित्र्याउने प्रयास गरेको ? विप्रेषणलाई वैधानिक तवरले भित्र्याउनुपर्छ भन्ने दबाब लामो समयदेखि आएपछि केही महीनायता केही बैंकले बैंकिङ च्यानलमार्फत आउने विप्रेषणमा साविकभन्दा १ प्रतिशत बढी ब्याज दिने घोषणा गरेका छन् । अहिलेको परिस्थितिमा त्यो प्रयासले काम गरेको देखिएको छैन । किनकि हुन्डीवालाले बैंकले दिने ब्याजभन्दा बढी कमिशन दिने गरेका हुन्छन् । त्यसैले, सरकारले अहिलेलाई कम्तीमा हुन्डी नियन्त्रण गर्न सक्यो भने हाल भित्रिरहेको विप्रेषणभन्दा करीब तीन गुणा बढी रकम भित्रिन सक्ने अनुमान छ । नेपाल जत्तिकै संख्यामा वैदेशिक रोजगारीमा पठाउने अन्य देश (बंगलादेश, पाकिस्तान) ले नेपालको भन्दा बढी विप्रेषण भित्र्याउने गरेका उदाहरण छन् । ती देशले बैंकिङ च्यानलमार्फत विप्रेषण भित्र्याउन कुनै नयाँ काम गरेका होइनन् । ती देशले गरेको मुख्य काम बैंकिङ च्यानलमार्फत विप्रेषण पठाउँदा लाग्ने कर घटाएका हुन् र जसले गर्दा वैदेशिक रोजगारीमा जानेको विश्वास जितेका छन् । तर, नेपालमा भने वैदेशिक रोजगारी र विदेश जाने युवाप्रति हुने व्यवहार फरक छ । स्वदेशमा रोजगारी सृजना हुन नसकेका बेला युवाका लागि वैदेशिक रोजगारी बाध्यकारी हो । यस्तो अवस्था बुझ्दाबुझ्दै पनि सरकारले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई न सम्मान दिन सकेको छ, न उनीहरूको परिश्रमको नै मूल्य बुझेको छ । उनीहरूलाई सहज गरिदिने काम पनि पर्याप्त गर्न सकेको छैन । सरकारले तत्काल वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सम्मान गर्दै विप्रेषण आप्रवाहलाई सहजीकरण गर्न सक्ने हो भने अहिले देखिएको विदेशी विनिमय सञ्चितिको संकुचनमा ठूलो राहत प्राप्त हुन सक्छ । यति काम गर्दा पनि भएन भने नियन्त्रणका अन्य उपाय त  छँदै छन् । कुनै पनि संस्था वा निकायलाई व्यवस्थापन गर्ने संसारभरि नै मुख्यगरी दुई तरीका हुन्छन् । एउटा मनपर्दी निर्णय गर्ने र कार्यान्वयनमा लैजाने तथा अर्को तरीका सरोकारवालासँग समन्वय गरी त्यस्तो निर्णयमा सबैको साझेदारी गर्ने र गराउने । यी दुई अभ्यासको नतिजामा दोस्रो अर्थात् सहभागितामूलक निर्णयले राम्रो परिणाम दिएका उदाहरण प्रशस्त छन् । त्यसैले अहिले नियन्त्रणमुखीभन्दा पनि देखिएको समस्यामा सबैलाई सहभागी गराएर उपचार खोज्ने बेला हो । वैदेशिक रोजगारीमा जानेप्रति सरकार यतिसम्म उदासीन छ कि अहिलेसम्म उनीहरूलाई मताधिकारको सुविधासम्म दिन सकेको छैन । कम्तीमा आउँदै गरेको स्थानीय चुनाव होस् वा त्यसपछि हुने संघ र प्रदेशको निर्वाचनमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मताधिकारको सुविधा दिने हो भने उनीहरू देशप्रति बढी जिम्मेवार हुनुका साथै अपनत्व महसूस गर्न सक्छन् । यसले गर्दा विप्रेषणलाई जथाभावी नगरी बैंकिङ च्यानलबाट पठाउन उनीहरू उत्प्रेरित हुन्छन् । आफ्नो दायित्व पूरा नगर्ने अनि अनेकथरी तानाबाना बुन्न खोज्ने हो भने त्यसले समस्याको समाधान नगरी केवल बल्झाउने काम मात्र गर्छ । अहिले नेपालका लागि स्रोतको नभई सोचको समस्या हो भन्ने विभिन्न गतिविधिले देखाइरहेका छन् ।

अवैध भए पनि किन आकर्षण छ हुण्डीमा ?

गैरकानूनी भनी चिनिने हुन्डीलार्ई जति नै कडाइ गरे तापनि यससम्बन्धी क्रियाकलाप नियमित रूपमा भइरहेको छ । आठौं शताब्दीदेखि विभिन्न व्यापारीले भारतमा सञ्चालनमा ल्याएको मानिएको यो रकमान्तर प्रक्रिया आज बैंकिङ प्रणाली सञ्चालनमा आइसक्दा समेत उत्तिकै प्रचलमा छ । हुन्डी बढी हुने ठाउँमा गैरकानूनी कार्य, अवैध धन्दा, लागूपदार्थ सम्बन्धी व्यापार, आतंकवादीलाई वित्तीय सहयोग बढी हुने अनुमान गरिन्छ । हुन्डी पठाउने देश मात्र नभएर प्राप्त गर्ने देशसमेत यस प्रकारको जोखिमको दायरामा रहेको हुन्छ । हुन्डी गैरकानूनी कालो धन शुद्धीकरण गर्ने, गैरकानूनी कार्यबाट आर्जित धनलाई कानूनी दायरामा ल्याउने, भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई चोख्याउने ठाउँ भनी चिनिन्छ । शंकास्पद गतिविधि, आपराधिक र आतंकवादी क्रियाकलापलाई आर्थिक सहयोग पुर्‍याउने माध्यम मानिन्छ, हुन्डी । यद्यपि नेपाललगायत अन्य मुलुकमा हुन्डीबाट हुने कारोबार न्यून हुन सकेको छैन । वित्तीय क्षेत्रका अब्बल व्यक्तिले नै हुन्डीलाई प्राथमिकतामा राखेको भेटिन्छ । हुन्डीको प्रयोग खाडी मुलुकबाट नेपाल रकम पठाउन मात्र प्रयोग भएको छैन, नेपालबाट विदेश पठाउन वा विकसित मुलुकबाट नेपाल रकम पठाउन पनि भएको छ । एउटा उच्च तहको व्यक्तिले आफ्ना छोराछोरीलाई अस्ट्रेलियामा घर किन्न पैसा पठाउँदा हुन्डी नै प्रयोग गरेको भेटिन्छ । हुन्डी प्राथमिकतामा पर्नुका पछाडि केही विशेष कारण रहेका छन् । सर्वप्रथम त हुन्डी सहज छ, यो प्रयोग गर्नका निमित्त न कुनै बैंक खाता हुनुपर्छ न विभिन्न मापदण्डअन्तर्गत रहनुपर्छ । हुन्डी नामक छोटो चलचित्रमा देखाएबमोजि, हुन्डीमार्फत रकम प्राप्त गर्न होस् वा पठाउनुहोस्, हुन्डी व्यवसायमा संलन व्यवसायी घरदैलोसम्म नै आइपुग्छन् । बैंकहरू लगभग सबै स्थानीय तह पुगे पनि हुन्डी लगभग सबै वार्डसम्म पुग्न सफल भएको जस्तो देखिन्छ । हुन त हुन्डीलाई विश्वासविहीन भनेर बुझिन्छ । तर, जब तल्लो घरको छोराले कतारबाट पैसा पठाउन हुन्डी प्रयोग गर्छ, माथ्लो घरको बुबाले पनि आफ्नो छोरालाई त्यही माध्यम प्रयोग गर घरमै पैसा आइपुग्नेछ भनी सुझाव दिन थाल्छन् । त्यो गाउँमा बस्नेलाई थाहा हुँदैन यो कति जोखिमयुक्त छ । बैंक जाँदा बैंकले सही मिलेन, यो भन्दा ठूलो रकम दिन मिल्दैन भनिरहेको सन्दर्भमा घरमै रकम आइपुग्दा विश्वास हुनु स्वाभाविक हो । वित्तीय साक्षरताको कमी हुनुको परिणाम शायद एउटा यो पनि हो, जसमा यसरी कारोबार गरिएको रकम र शैलीसँग आबद्ध जोखिमको अनुमानसम्म गरिएको हुँदैन । हुन्डीको बिगबिगी यसरी बढ्नुको कारण यो झमेलामुक्त रहनु हो । न कलेजको कुनै कागजात देखाउनुपर्छ, न बैंकिङ नियम र अनुपालनको पालना गर्नुपर्छ । यसबाट हुने सम्पूर्ण जोखिम एकातर्फ राखेर कारोबार गर्न सकिन्छ । यता एउटा हातमा पैसा दियो, अर्को हातले उता पैसा प्राप्त गर्छ । कुनै झन्झटको सामना कसैले गर्नु नपर्ने भएकाले यसको लोकप्रियता उच्च बिन्दुमा पुगेको बुझ्न सकिन्छ । अन्तरराष्ट्रिय भुक्तानी प्रणालीमा नेपाल अझै पनि विश्वबजारभन्दा बाहिर नै रहिआएको छ जसको पुष्टि क्रिप्टो मुद्रामा लगाइएको बन्देजले स्पष्ट पार्छ । अझै पनि हामीसँग पेपल, इक्सेलजस्तो खाताको सहज पहुँच नहुँदा यसरी हुने आम्दानीलाई नेपाल भित्र्याउनसमेत हुन्डी प्रयोग भइरहेको देखिन्छ । अन्तरराष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत रहेर नेपालभित्र विभिन्न तरीकाले भुक्तानी गर्न सकिने भएकाले नेपाली सचेत समूहले पनि हुन्डी प्रयोग गरेको देखिन्छ । हुन्डीको बिगबिगी बढ्नुको अर्को कारण व्यावहारिक पक्षमा ध्यान नदिनु हो । रकमान्तर गर्ने कुनै संस्था यदि एउटा मुलुकमा कानूनी मान्यता पाएर बसेको छ, रकमान्तर गर्ने अनुमति लिएर बसेको छ भने त्यसलाई नेपालले कसरी हेर्छ थाहा छैन । विदेशमा रकम पठाउने उक्त एजेन्ट कानूनी मान्यता प्राप्त भइरहँदा प्रापक चाहिँ गैरकानूनी कसरी हुन्छ ? यस विषयमा हाम्रो अध्ययन कम भएको हो कि ? हुन्डी गैरकानूनी हो भने त्यो सबैतिर गैरकानूनी नै हुनुपर्ने हो । हिजो जस्तो सम्पूर्ण रकम नियामक निकायलाई जानकारी गराएर भित्रन अहिलेको विश्वव्यापी युगमा कठिन हुन सक्छ । यसमा हामीले आफ्नो स्तर उकास्ने या विश्वव्यापी मान्यतालाई प्रोत्साहित गर्ने भन्ने विषय बुझ्न जरुरी छ । हुन्डीमा आकर्षण बढ्नुको मुख्य र नकार्न नमिल्ने कारण भनेको यसको शुल्क पनि हो । औपचारिक माध्यमबाट रकमान्तर गर्दा लाग्ने शुल्क र हुन्डीको प्रयोग गर्दा लाग्ने शुल्कमा निकै अन्तर भेटिन्छ । औपचारिक माध्यमबाट रकमान्तर गर्दा तिर्नुपर्ने सेवाशुल्क, करलगायत खर्चले प्रापक र प्रेषक दुवैलाई मर्का परेको पाइन्छ । जब शुल्क न्यून हुन्छ, आकर्षण बढ्नु स्वाभाविक हो । अन्तिम कारण भनेको हुन्डीबाट गरिने कारोबारलाई सूक्ष्म निगरानीको अभाव पनि हो । यहाँ न हुन्डीमार्फत रकमान्तर गराउने व्यक्तिलाई डर छ, न उक्त कारोबार सञ्चालन गर्ने व्यवसायीलाई । यसले गर्दा यसलाई निरुत्साहित गर्ने पक्ष कमजोर र प्रोत्साहित गर्ने पक्ष बलियो देखिन्छ । विश्वमा भएका ठूलाठूला आतंकवादी कार्यमा वास्तवमै हुन्डीको महत्त्वपूर्ण भूमिका रहेको तथ्यहरूले देखाउँछ । नेपालमा पनि भारत, दक्षिण कोरियालगायत मुलुकबाट उच्च मात्रामा हुन्डी कारोबार हुने भनी जानकारी दिइएको छ, तर यसलाई नियन्त्रण गर्ने, अनुगमन गर्ने पक्षले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । महजोडीद्वारा निर्मित हुन्डी नामक छोटो फिल्मले वित्तीय सचेतना जगाउन खोजेको देखिन्छ । वित्तीय साक्षरतामा हाम्रो स्थान निकै न्यून रहिआएकाले आज वित्तीय कारोबार कसरी गर्ने, के ठीक र के बेठीक भनेर जनस्तरमा सचेतनाकै कमी रहेको छ, जसले गर्दा यस प्रकारको कार्यलाई सहयोग पुगिरहेको देखिन्छ । हुन्डी कारोबारलाई निरुत्साहित गर्न वित्तीय संस्थादेखि राज्य एक साथ भएर अगाडि बढ्न आवश्यक छ । रेग्मी बैंकर हुन् ।

आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकले किन गर्‍यो कडाइ ?

आन्तरिक रेमिट्यान्समा कडाइ गर्नुका मुख्य तीन कारण छन्– मूल उदेश्य, बैंकिङ कारोबार र हुन्डी नियन्त्रण ।

https://www.onlinekhabar.com/2020/03/843070

२७ फागुन, काठमाडौं । ठेकदार मनोजकुमार भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौ‌ंमा आत्मसर्मपण गरे । रकम उठाएर फरार भएका भेटवाललाई उच्च अदातल पाटनले ठगी मुद्दामा पक्राउ गर्न आदेश थियो । भेटवाल ठगी, बैंकिङ कसुर, हुन्डी कारोबार, …

अर्बौं रुपैयाँको हुन्डी कारोबार

सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट रेमिटेन्स ल्याउन प्रोत्साहन गरे पनि अझै हुन्डीमार्फत रकम आइरहेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानले हुन्डी कारोबार भइरहेको फेला पारेको हो।

हुन्डी कारोबार नियन्त्रणको पहल  - Karobar National Economic Daily

अर्थमन्त्रालयले बैंकिङ च्यानलबाट आफ्नो आय नपठाए पुनः श्रम स्वीकृति जारी नगर्ने निर्देशन जारी भएपछि विभिन्न देशमा रहेका नेपालीहरूमा त्रास बढ्न थालेको छ । खास गरी दक्षिण कोरिया, इजरायलजस्ता देशमा कार्यरत…