दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ को सुनालिथान सामुदायिक वन उपभोक्ता समूहभित्र पर्ने वन तथा आबादी क्षेत्रमा स्वर्गद्वारी माइन्स एन्ड मिनरल्स प्रालिले चुनढुङ्गा उत्खनन गर्न थालेको कार्यप्रति स्थानीय जनताले विरोध जनाउनुका साथै उत्खनन हुन नदिने बताएका छन् ।
उनीहरूले उत्खनन हुन नदिनका लागि चुनढुङ्गा उत्खनन रोक्का सङ्घर्ष समिति नै गठन गरेका छन् ।
स्थानीय अगुवा तथा राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका–१९ का अध्यक्ष मङ्गल घर्तीमगरको संयोजकत्वमा ५२ सदस्यीय चुनढुङ्गा उत्खनन रोक्का सङ्घर्ष समिति गठन भएको सयोजक मङ्गल घर्तीमगरले बताउनुभएको छ ।
त्यहाँ रहेको त्रिबेणी टोल विकास संस्थाको बैठक बसी उक्त सङ्घर्ष समिति गठन भएको हो । उत्खनन भयो भने त्यहाँका जनताको जीवन सङ्कटपूर्ण हुने, पानीका मुहान सुक्ने, पर्यावरण बिग्रने, उत्पादन रोकिनेजस्ता समस्या हुने भएकाले उत्खनन नगर्न सङ्घर्ष समितिले माग गरेको छ ।