काठमाडौं । काठमाडौं महानगरको फोहोर स्रोतमै वर्गीकरण गर्न चुनौती हुँदै आएको छ । काठमाडौं महानगरपालिकाले स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने बताउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
फोहोर व्यवस्थापन प्रभावकारी बनाउन महानगरले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहोर वर्गीकरणको काम थाले पनि महानगरको ३२ ओटै वडामा उक्त किसिमले फोहोर वर्गीकरण हुन सकेको छैन । शुरूमा केही दिन नगरवासीले घरबाटै वर्गीकरण गरी ल्याउने गरे पनि अहिले सबै किसिमको फोहोर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ ।
महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहोर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ । ‘कुहिने फोहोर काठमाडौं उपत्यकामै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे महानगरले केन्द्र सरकारसँग छलफल गरिरहेको छ,’ श्रेष्ठले भने, ‘स्थान प्राप्त हुनेबित्तिकै स्रोतमै फोहोरको वर्गीकरण गरी प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ ।’
कुहिने फोहोरबाट यसै हप्तादेखि टेकु ट्रान्सफर स्टेसनमा मल बनाउने काम शुरू हुन्छ । ‘यससँगै उपत्यकाका अन्य केही स्थान र काठमाडौं उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थान बञ्चरेडाँडामा पनि कुहिने फोहोर अलग राखेर मल बनाउने काम शुरू गर्ने तयारी महानगरको छ,’ श्रेष्ठले भने ।
तत्कालका लागि स्थान अभावकै कारण यो काम प्रभावकारी हुन सकेको छैन । महानगरको कुल ३२ मध्ये भित्री ९ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना सबै वडामा लागू गरिएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिक टन फोहोर जान्छ । निजीक्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरी दैनिक कम्तीमा २०० गाडीले फोहोर ओसार्छन् ।
अन्तिम फोहोर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक १ हजारदेखि १ हजार २०० मेट्रिक टनसम्म फोहोर जाने गरेको छ । उपत्यकाका १८ पालिकाको फोहोर दैनिक रूपमा उक्त स्थानमा पुग्छ । शुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको हो । रासस