मंसिर १३, जेनेभा। कोरोना भाइरसको नयाँ भेरियन्ट अहिलेसम्म १० भन्दा बढी मुलुकमा फैलिएको छ ।
पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० ओटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम गर्ने वा नगर्ने भनेर पुष्टि गर्न अझै केही हप्ता लाग्ने संगठनको भनाइ छ ।
विभिन्न सञ्चार माध्यमहरुका अनुसार हालसम्म १० ओटा मुलुकमा ओमिक्रोन भेरियन्ट फेला परेका छन् । अष्ट्रेलिया, इटाली, जर्मनी, नेदरल्याण्ड, बोत्स्वाना, हङकङ, इजरायल, बेल्जियम, चेक गणतन्त्र लगायत केहि मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका हुन् ।
उता जापानले भने फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी गरेको छ। सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमवार बताएका छन् । अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस भन्ने उद्धेश्यले जापानले विदेशबाट आउनेहरुलाई जापान प्रवेशमा निषेध गर्न लागेको बताएको छ ।
भारतमा भने ओमिक्रोनबाट कोही पनि संक्रमित भएका छैनन् । कर्नाटक राज्यमा दुई जना दक्षिण अफ्रिकी नागरिकमा कोरोना पोजेटिभ देखिएको थियो । तर दुवै जना ओमिक्रोनबाट नभई डेल्टा भेरियन्टबाट संक्रमित भएको पाइएको थियो ।एजेन्सीहरु