राष्ट्र बैंक अध्ययन : विदेशी मुद्रा आर्जनमा प्रदेश १ दोस्रो ठूलो स्रोत

काठमाडौं । विदेशी मुद्रा आर्जन गर्न प्रदेश नम्बर १ दोस्रो ठूलो दिगो वैकल्पिक स्रोत हुने देखिएको छ । हाल विदेशी मुद्रा आर्जन गर्न विप्रेषण नै ठूलो स्रोत रहेको छ, त्यसपछिको दोस्रो ठूलो स्रोत प्रदेश नम्बर १ हुन सक्ने नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले प्रदेश नम्बर १ को गत आवको आर्थिक गतिविधि सम्बन्धमा अध्ययन गरेको थियो, सोही अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रदेश १ को पर्यटन क्षेत्रलाई विप्रेषणपछिको दोस्रो विदेशी मुद्रा आर्जन गर्ने दिगो वैकल्पिक स्रोतका रूपमा विकास गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा भौगोलिक तथा जलवायु विविधता, जैविक विविधता, सामाजिक, धार्मिक तथा सांस्कृतिक विविधता, मनोरञ्जनको सम्भाव्यता, दुई छिमेकी राष्ट्र भारत र चीनसँगको सामीप्यबाट लाभ प्राप्त गर्न पर्यटन पूर्वाधारमा लगानी गर्नुपर्ने अध्ययनले देखाएको छ । पूर्वाधारमा लगानी बढाए त्यहाँको पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने स्रोत बनाउन सकिने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रदेश १ ले कृषिक्षेत्रको व्यवसायीकरण गर्न पनि ठूलो योगदान गर्ने अध्ययनले देखाएको छ । समग्र मुलुकको कृषि उत्पादनमा उक्त प्रदेशको अंश सबैभन्दा बढी अर्थात् २१ दशमलव ५ प्रतिशत छ । त्यस तथ्यले कृषिमा आधुनिक प्रविधिको प्रयोग, लगानीको विस्तार तथा पूर्वाधार विकासको माध्यमबाट कृषि क्षेत्रको व्यवसायीकरण गरी कृषिजन्य उत्पादनको आयात प्रतिस्थापन गर्न उक्त प्रदेशको योगदान हुने देखिएको छ । सिँचाइ, जलविद्युत्, जल यातायात विकासको पनि उच्च सम्भावना देखिएको छ । यस प्रदेशमा वर्षैभरि जलप्रवाह हुने अरूण, तमोर, दूधकोशी, मेची, कन्काई, त्रियुगालगायत नदी तथा उच्च हिमालय र महाभारत शृङ्खलाका कारण सिँचाइ, जलविद्युत्, जल यातायातको विकासमा सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । स्वदेशी तथा विदेशी लगानी परिचालन गरी विद्युत् उत्पादन तथा सिँचाइको समुचित विकास गर्न सकिए कृषिको मौसमी निर्भरता कम हुने र कृषियोग्य भूमिको उत्पादकत्व तथा कृषि उत्पादनमा वृद्धि भई औद्योगिकीकरणमा टेवा पु¥याउन सकिने प्रतिवेदनमा उल्लेख छ । प्रदेश १ मा उद्योग तथा कलकारखाना स्थापना गर्न सके उत्पादित वस्तु तथा सेवा निकासी गर्न तुलनात्मक रूपले सहज हुने देखिएको छ । प्रदेशको भारत र चीन दुवै देशसँग सिमाना जोडिनुका साथै कोशी तथा मेची राजमार्गले दुवै छिमेकी मुलुकसम्मको पहुँच सहज बनाएको छ । त्यसकारण विदेशी लगानीका उद्योग तथा कलकारखाना स्थापना गर्न सके उत्पादित वस्तु तथा सेवा निकासी गर्न तुलनात्मक रूपले निकै सहज हुने प्रतिवेदनमा उल्लेख छ । ग्रामीण क्षेत्रका उत्पादनका लागि आन्तरिक तथा बाह्य बजार सुनिश्चित हुँदै गएकाले कृषिजन्य तथा औद्योगिक उत्पादनको आन्तरिक तथा निर्यात व्यापार विस्तार हुने पनि उत्तिकै सम्भावना देखिएको छ । मध्यपहाडी लोकमार्ग तथा लोकमार्गसम्म जोड्ने सहायक मार्गहरूको तीव्र निर्माण तथा विस्तारको कारण यस्तो सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रदेश १ का सुनसरी–मोरङ कोरिडोरमा भएका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा औद्योगिक उत्पादनले निर्यात व्यापार प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान पुर्‍याउने पनि देखिएको छ । प्रदेश नं. १ को कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको छ । त्यस सन्दर्भमा औद्योगिक उत्पादनले निर्यात व्यापार प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा सहयोग पुग्ने प्रतिवेदनमा उल्लेख छ । सम्भावनाका बीच प्रदेश १ मा केही चुनौती पनि देखिएका छन् । आवधिक योजनाले निर्दिष्ट गरेका आर्थिक विकासको रणनीतिक लक्ष्यअनुरूप हुने गरी वार्षिक बजेटमा पर्याप्त रकम विनियोजन गर्न चुनौती देखिएको छ । क्षेत्रगत प्राथमिकतालाई निरन्तरता प्रदान गरी त्यस्ता योजनाको लक्ष्य प्राप्त गर्न पनि चुनौती हुने देखिएको छ । कृषि, उद्योग, सेवा तथा पूर्वाधारसँग सम्बद्ध तथ्यांक, सूचना तथा विवरण पूर्णरूपमा भरोसायोग्य नहुँदा तथ्यमा आधारित दिगो नीति निर्माण गर्न पनि चुनौती देखिएको छ । कृषि, उद्योग, सेवा तथा पूर्वाधार क्षेत्रसँग सम्बद्ध तथ्यांक प्रदायक निकाय, प्रतिष्ठान तथा संघसंस्थामा सम्बद्ध सूचना तथा तथ्यांक व्यवस्थित भण्डारण नहुँदा यस्तो समस्या भएको प्रतिवेदनमा उल्लेख छ । संघ, प्रदेश र स्थानीय सरकारका लक्ष्य र प्राथमिकताका बीचमा तादात्म्य मिलाई स्रोत र साधनको प्रभावकारी वितरण तथा परिचालन गर्न पनि चुनौती नै हुने देखिएको छ । बढ्दो आयातका कारण स्वदेशी उद्योग प्रतिस्थापन हुनबाट संरक्षण गर्न पनि चुनौती हुने बताइएको छ । प्रदेशभित्र उच्च तुलनात्मक लाभ भएका वस्तु तथा सेवाको उत्पादन र व्यवसायको प्रवद्र्धन गरी दुई ठूला छिमेकी देशको बजारबाट लाभ लिन सक्ने वातावरण बनाउन पनि चुनौती हुने प्रतिवेदनमा उल्लेख छ । विकट भौगालिक अवस्था भएकाले वित्तीय पहुँचको विस्तार गर्ने तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशिता बढाई उपलब्ध वित्तीय उपज तथा उपकरणको उपयोग बढाउन पनि चुनौती हुने प्रतिवेदनमा उल्लेख छ । आन्तरिक लगानी क्षमता सीमित रहेको सन्दर्भमा प्रदेशको समृद्धि र विकासका लागि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न पनि चुनौती देखिएको राष्ट्र बैंकको भनाइ छ ।

सम्बन्धित सामग्री

भारतको विदेशी मुद्रा सञ्चिति घट्यो

भारतको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ। सबैभन्दा ठूलो विदेशी मुद्रा कम्पोनेन्ट भनिने विदेशी मुद्रा सम्पत्ति २ अर्ब ६५३ करोड डलर घटेर ५४५.८५ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । जनवरी १२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १ अर्ब ६३४ बिलियन डलर बढेर ६१८.९३७ बिलियन डलर पुगेको थियो ।सन् २०२३ मा भारतको विदेशी मुद्रा सञ्चितिमा करिब ५८ अर्ब डल

थुप्रियो विदेशी मुद्रा

विकास निर्माण, माग तथा समग्र आन्तरिक अर्थतन्त्र शिथिल हुँदा विदेशी मुद्रा सञ्चिति थुप्रिन थालेको छ । केही समयअघि विदेशी मुद्रा सञ्चिति घटेर समस्यामा परेको नेपाललाई अहिले भने थुप्रिएर टाउको दुखाइ हुन...

विदेशी मुद्रा विनिमय सम्बन्धी अन्तरक्रिया

गरिमा विकास बैंक र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधि तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीसहितको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पति शुद्धिकरणलगायतका विषयमा बृहत छलफल तथा प्रशिक्षण भएको बैंकले […]

विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठमेलमा रहेको होटल मर्स्याङ्दीमा सम्पन्न कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरण लगायतका समसामयिक विषयमा प्रशिक्षण केन्द्रित रहेको बैंकले जनाएको छ । गरिमा विकास […]

भारतको विदेशी मुद्रा सञ्चितिमा रेकर्ड गिरावट

भारतको विदेशी मुद्रा सञ्चिति फेरि घटेको छ । यो सातामा विदेशी मुद्रा सञ्चिति ३ अर्ब ८४ करोड डलरले घटेर ५२४.५२ अर्ब डलर पुगेको छ ।यो जुलाई २०२० यताकै न्यून स्तर हो। अघिल्लो साता कूल विदेशी विनिमय सञ्चिति ४ अर्ब ५० करोड डलरले घटेर ५ खर्ब २८ अर्ब ३७ करोड डलरमा झरेको थियो ।समाचार एजेन्सी पीटीआईका अनुसार विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण विदेशी मुद्रा सम्पदामा आएको गिरावट हो। यस अवधिमा सुनको भण्डारमा पनि कमी आएको छ । अक्टोबर २०२१ मा देशको विदेशी मुद्रा सञ्चिति ६४५ अर्ब डलर पुगेको थियो ।

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ । यस्तो खर्च सन् २०२१ को तुलनामा २६.१ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ। आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ।...

तालिवानद्वारा अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ। विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन्।

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

भारतको विदेशी मुद्रा सञ्चिति बढ्दो

एजेन्सी। भारतको विदेशी मुद्रा सञ्चिति ५८२.४०६ अर्ब डलर पुगेको छ। रिजर्भ बैंकको शुक्रबारको आँकडाले यस्तो सञ्चितिमा १.१९३ अर्ब डलर वृद्धि भएको देखाएको हो। भारतको विदेशी मुद्रा सञ्चिति जनवरी २९ मा ५९०.१८५ अर्ब डलरको सर्वाधिक उचाइमा पुगेको थियो। त्यसपछि केही समय गिरावट आएको सञ्चितिमा पुनः बढोत्तरी भएको हो।