नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य पक्ष सकारात्मक बन्दै गएकाले क्रमश: आन्तरिक पक्ष पनि सक्रिय हुने बताए पनि अर्थतन्त्रका विद्यमान निराशामा परिवर्तन आएको देखिएको छैन । चाडबाडमा उद्योगको उत्पादन ४० प्रतिशत मात्र हुनाले अर्थतन्त्र सकसमा रहेको पुष्टि हुन्छ । विगतमा दशैंतिहारमा अर्थतन्त्र चलायमान हुने गरेको थियो । वर्षभरिको व्यापारको झन्डै ३० प्रतिशत कारोबार दशैंमा हुने अघिल्ला आर्थिक वर्षहरूको परिदृश्य यस वर्ष देखिएन । दशैंका बेलामा बजारमा भीडभाड बढेको देखिए पनि व्यापार नबढेको भनी व्यापारीले बताएकाले बजारमा माग बढ्न नसकेको देखाउँछ । दशैं खर्च भनी अर्बौं रुपैयाँ सर्वसाधारणका हातमा गएको महीनामा समेत बजारमा माग नबढ्दा उद्योगले उत्पादन क्षमता घटाउनु पर्नुको कारण के हो ? सरकार गम्भीर हुनुपर्छ । गम्भीर नहुने हो भने समस्या झन् विकराल हुन सक्छ ।
अर्थतन्त्रमा अहिले देखिएको समस्याको गाँठो केही मात्रामा अन्तरराष्ट्रिय हो भने केही मात्रामा आन्तरिक कमजोरी नै हो । कोरोनाबाट बिग्रिएको आपूर्ति शृंखलाबाट प्रभावित अर्थतन्त्र लयमा आउन नपाउँदै रूस–युक्रेन युद्धका कारण थप प्रभावित बन्यो । यसरी प्रभावित भए पनि अहिले नेपालका दुई छिमेकी चीन र भारतलाई यसले खासै छोएन । यी दुई देश नेपालका प्रमुख व्यापारिक साझेदार हुन् । त्यसो हुँदा नेपालको अर्थतन्त्र पनि त्यति धेरै संकटमा नपर्नु पर्ने हो । हुन त नेपाली मुद्रा भारतीय मुद्रासँग आबद्ध गरिएकाले नै विश्व अर्थतन्त्रको समस्याबाट कम प्रभावित भएको देखिन्छ । तैपनि नेपालको अर्थतन्त्र मन्दीमा गएको छ । यसो हुनुमा सरकारको नीति र कार्यक्षमताको अक्षमता नै कारण हो भन्ने देखिन्छ । उद्योगहरूको उत्पादन घट्नुको कारण माग कमजोर हुनु हो । सरकारले पूर्वाधार निर्माणका काम तीव्र बनाउन सकेन जसका कारण निर्माण उद्योगहरू सुस्ताउन पुगे । निर्माण सम्पन्न भएका आयोजनाहरूको समेत सरकारले भुक्तानी दिन सकेको छैन । ठेकेदारहरूले झन्डै ७० अर्ब भुक्तानी पाउन सकेका छैनन् । सरकारी ढुकुटीमा रहेको रकम बजारमा आएको भए त्यसले पैसाको आपूर्ति बढाउँथ्यो र ब्याजदर घटाउनसमेत दबाव पाथ्र्यो । तर, काम सम्पन्न भएका ठेक्काको भुक्तानी दिन सरकारले आनाकानी गरिरहेको छ । आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने र ऋण तिर्नका लागि पनि ऋण लिनुपर्ने अवस्थामा सरकार छ । त्यसैले अहिलेको समस्याको कारक सरकार नै हो भन्ने देखिन्छ ।
आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने र ऋण तिर्नका लागि पनि ऋण लिनुपर्ने अवस्थामा सरकार छ । त्यसैले अहिलेको समस्याको कारक सरकार नै हो भन्ने देखिन्छ ।
असोज महीनामा आयात बढेको देखिएको छ । यसले माग बढेको हो कि भन्ने देखाउँछ । तर, उत्पादन नबढाउने हो भने यस्तो माग बढ्नुलाई सकारात्मक मान्न सकिन्न । अर्थतन्त्रमा खास के कारणले समस्या आइरहेको छ भन्नेमा सरकारले चासो नै नलिएको हो कि भन्ने देखिएको छ । साँचिकै सरकार गम्भीर हुन्थ्यो भने यसले विज्ञहरूसँग बसेर गम्भीर छलफल गर्नुपथ्र्यो, अर्थतन्त्रका संवाहक मानिएको निजीक्षेत्रसँग पनि अन्तरक्रिया गर्नुपथ्र्यो । निजीक्षेत्रको चासो र चिन्तालाई सम्बोधन पनि गथ्र्यो । तर, यी कुनै पनि काम नभएकाले सरकारलाई अर्थतन्त्रको कुनै चिन्ता छैन भन्ने देखाउँछ । अझ विडम्बनाको कुरा के छ भने अर्थमन्त्री डा. प्रकाशशरण महतका अभिव्यक्ति नै विरोधाभासपूर्ण देखिएका छन् । उनले केही अर्थतन्त्र सही गतिमा नै रहेको बताएको पाइन्छ भने कहिले समस्या भएको बताउने गरेको पाइन्छ । यस्तो अवस्थामा अर्थतन्त्रमा आत्मविश्वास कसरी पलाउँछ ?
जुन कारणले समस्या भइरहेको छ त्यसलाई फुकाउने काम सरकारको हो । तर, देखिने काम पनि सरकारले गर्न सकेको छैन । पूँजीगत खर्चमा सुधार आएको छैन । बजार चलायमान बनाउने र उत्पादन वृद्धि गर्ने कार्यक्रम छैनन् । सर्वसाधारणमा आशामात्रै जगाउन सके पनि अर्थतन्त्र केही चलायमान हुन्छ । त्यति काम गर्न पनि सरकार चुकिरहेको छ । त्यसैले अर्थतन्त्रको सकस हटाउन सरकारले सबै पक्षलाई समेटी कडा प्रतिबद्धताका साथ संरचनात्मक सुधारका कार्यक्रम ल्याउन ढिला गर्नु हुँदैन ।