ग्लोबल इक्विटी फन्डले यूएसएडको ट्रेड एन्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा महिलाहरूले सञ्चालन गरेको उद्यमलाई सघाउने गरी ५० करोड रुपैयँाको कोष सञ्चालनमा ल्याएको छ । वित्तीय सेवाको पहुँच पुर्याएर महिला उद्यमीको व्यवसायलाई माथि उकास्ने उद्देश्यले ग्लोबल इक्विटी फन्डले औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । महिलाहरूले वित्तीय पहुँच पाउन समस्या भइरहेको सन्दर्भमा यस्तो फन्ड सञ्चालनमा आउनु सकारात्मक छ ।
कोषले महिला उद्यमीलाई न्यूनतम ५० लाख रुपैयँादेखि अधिकतम ५ करोड रुपैयँासम्म सहयोग गर्ने बताइएको छ । व्यवसायको आवश्यकता र मागअनुसार उद्यममा लगानी गर्ने कोषको भनाइ छ । खासगरी लघु, साना तथा मझौला उद्योगमा लगानी गर्ने कोषले बताएको छ । यस्तो उद्योगमा ५१ प्रतिशत महिलाको स्वामित्व रहेको, नेतृत्वदायी भूमिकामा वा बोर्डमा ३० प्रतिशत महिला हुनुपर्ने, ३० देखि ५० प्रतिशत महिला रोजगारी हुनुपर्नेलगायत मापदण्ड तय गरिएको छ । नेपालमा महिलाहरूले लघु, साना तथा मझौला उद्योगहरू सञ्चालन बढी गरेको पाइन्छ । यस्तोमा उनीहरूको वित्तीय समस्यामा सहयोग पुग्नु भनेको महिला उद्यमशीलताका लागि निकै सहयोग हो ।
महिला उद्यमशीलतालाई सघाउन सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगतमा महिला उद्यम विकास कोष सञ्चालन गरिएको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त सहुलियत कर्जाअन्तर्गत महिला उद्यमशीलताका लागि बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । महिलाहरूलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने नीति लिइएको छ । तर, धितो राख्ने सम्पत्ति नहुँदा तथा कर्जाका लागि आवश्यक प्रक्रिया पुर्याउन नसक्दा महिला उद्यमीहरूले सहजै कर्जा पाउन सकेका छैनन् । नेपालमा महिलाहरूले आफ्नो शीप र स्थानीय स्रोत प्रयोग गरेर लघु उद्यमहरू गरिरहेको पाइन्छ । तर, यस्ता उद्यमलाई विस्तार गर्न बजारीकरणको समस्या एकातिर छ भने अर्कातिर उनीहरूले लगानी बढाउन स्रोत पाइरहेका छैनन् । साथै प्रविधिको पहुँच नहुँदा वा उद्योगको प्रस्ताव तयार पार्न नजान्दा पनि सरकारले दिएको सहुलियत उपयोग गर्न सकेका छैनन् । त्यसैले महिला उद्यमशीलता बढाउने हो भने उनीहरूलाई वित्तीय पहुँच सहज रूपमा पुर्याइनुपर्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजारभन्दा बढी महिला उद्यमीमा ५८ अर्बभन्दा बढी कर्जा प्रवाह भएको छ । यो संख्या ठूलो भए पनि लेखपढ कमजोर भएका, औद्योगिक प्रक्रिया नजानेका महिलाहरूले कर्जा लिएको पाइँदैन । उनीहरूलाई कर्जा प्रवाह गर्न विशेष नीति लिनु आवश्यक देखिन्छ । यसका लागि कोषले थप काम गर्नुपर्ने देखिन्छ ।
मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन लघु, साना तथा मझौला उद्योगहरूको भूमिका निकै बढी हुन्छ । यसले दिने रोजगारी पनि ठूलै हुन्छ । त्यसैले यस्तो कोषले पूँजीका अतिरिक्त आवश्यक अन्य सहयोगसमेत दिए महिला उद्यमशीलता विस्तारमा सहयोग पुग्ने देखिन्छ ।
खासगरी उत्पादन, गुणस्तर, बजार, आपूर्ति, कम्पनीको हिसाबकिताब आदि पक्षबारे जानकारी नभएका महिलाहरूले पनि परम्परागत शीप र स्थानीय स्रोतको प्रयोग गरी थोरै पूँजीमा उद्यम गरिरहेका छन् । त्यसको विस्तार गर्न उनीहरूसँग पूँजीको अभाव छ । यस्ता उद्यमीहरूले बैंकले दिएको कर्जाबारे जानकार नभएको, जानकारी भएर पनि झन्झटपूर्ण प्रक्रियाका कारण कर्जा विमुख भएको अवस्था छ । यो कोषले यस्ता महिलालाई सहयोग गर्नुपर्छ । पूँजीको सहयोगमात्र पर्याप्त नहुने हुँदा उद्यमशीलतासँग सम्बद्ध अन्य विषयबारे पनि उनीहरूलाई तालीम र ज्ञान दिनु आवश्यक देखिन्छ ।
मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन लघु, साना तथा मझौला उद्योगहरूको भूमिका निकै बढी हुन्छ । यसले दिने रोजगारी पनि ठूलै हुन्छ । स्थानीय स्रोतको प्रयोग हुने भएकाले स्थानीय अर्थतन्त्रमा पनि टेवा दिन्छ । त्यसैले यस्तो कोषले पूँजीका अतिरिक्त आवश्यक अन्य सहयोगसमेत दिए महिला उद्यमशीलता विस्तारमा सहयोग पुग्ने देखिन्छ ।