काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि चैत २० गते सोमबार रू. २८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिलको बोलकबोल गर्दै छ ।
राष्ट्र बैंकले चैत २१ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि रू. ४ अर्ब, ९१ दिनका लागि रू. ७ अर्ब ७५ करोड, १८२ दिनका लागि रू. ५ अर्ब ३० करोड र ३६४ दिनका लागि रू. ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।
यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १९ गते, असार १९ गते, असोज १६ गते र चैत २० गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।