काठमाडौं (अस) । आगामी आर्थिक वर्षको बजेटलाई निजीक्षेत्रले उत्साहका साथ स्वागत गरे पनि ऊर्जा क्षेत्र भने असन्तुष्ट देखिएको छ । बजेट साँच्चै नै निजीक्षेत्रमैत्री छ । निजीक्षेत्रलाई आर्थिक विकासको इन्जिनको रूपमै विकास गर्ने परिकल्पना बजेटले गरेको छ । तर, निजीक्षेत्रभित्रकै ऊर्जा क्षेत्रलाई भने बजेटले उचित सम्बोधन नगरेको व्यवसायी बताउँछन् ।
बजेटका ऊर्जासम्बन्धी कार्यक्रम र व्यवस्था स्वागतयोग्य भए पनि पर्याप्त नभएको उनीहरूको भनाइ छ । बजेटले ऊर्जा क्षेत्रको महत्त्वपूर्ण मागलाई सम्बोधन नगरेको नेशनल हाइड्रोपावरका अध्यक्ष कुमार पाण्डे बताउँछन् ।
‘ऊर्जा सम्बन्धमा जे जति व्यवस्था भएका छन्, त्यो स्वागतयोग्य छ । तर, ऊर्जा क्षेत्रका समस्यामा बजेटले कुनै सम्बोधन गरेन,’ आर्थिक अभियानसँग उनले भने, ‘ब्याजदर र महँगी बढ्दा ऊर्जा क्षेत्र निकै प्रभावित भएको छ । त्यसलाई सम्बोधन गर्ने गरी कुनै नीति आएन । समग्रमा सरकार ऊर्जा क्षेत्रप्रति उदासीन देखियो ।’ अहिले गर्नैपर्ने र हुनैपर्ने विषयमा बजेटले सम्बोधन नगरेको उनको भनाइ छ ।