काठमाडौं । जीवन बीमा कम्पनीहरूले चार महीनामा करीब ५० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ ओटा जीवन बीमा कम्पनीहरूले कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४४ करोड रुपैयाँ बीमा संकलन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा कुल बीमा शुल्क संकलन ७ दशमलव ४५ प्रतिशतले बढेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ४६ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा परेकाले कम्पनीहरूको व्यापारमा प्रभाव परेको यस क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् ।
प्राधिकरणका अनुसार चालु आवको चार महीनामा प्रथम बीमा शुल्क संकलन ५ दशमलव ३६ प्रतिशतले घटेको छ । चालु आवको चार महीनामा कम्पनीहरूले ८ अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।
चालु आवको चार महीनामा नवीकरण बीमा शुल्क संकलन १० दशमलव ६२ प्रतिशतले बढेको छ । चालु आवको चार महीनामा कम्पनीहरुले ४० अर्ब ८१ करोड रुपैयाँ नवीकरण बीमा शूल्क संकलन गरेका छन् ।
कुन महीना कति बीमा शुल्क संकलन ?
महीना
प्रथम बीमा शुल्क (रु लाखमा)
नवीकरण बीमा शुल्क (रु लाखमा)
कुल बीमा शुल्क (रु लाखमा)
साउन
22,980
173,089
196,069
भदौ
20,387
74,856
95,243
असोज
23,860
92,876
116,735
कार्तिक
19,059
67,306
86,365
कुल बीमा शुल्क (रु लाखमा)
86,285
408,126
494,412