फागुन २१, काठमाडौं । चालू आर्थिक वर्षको सात महीनामा बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।
नेपालमा सञ्चालित सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले साउनदेखि माघ महीनासम्म त्यति रकम संकलन गरेका हुन् । हाल नेपालमा जीवन र निर्जीवन गरी ३९ ओटा बीमा कम्पनी सञ्चालनमा छन् ।
पछिल्लो समयमा बीमा कम्पनीको संख्या बढ्दै गएपछि बीमितको संख्या पनि बढिरहेको छ ।
यद्यपि सरकारी अधिकारीहरुले सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने भन्ने गरेपनि व्यवहारमा त्यस्तो हुन सकेको छैन । बीमा समितिका अनुसार हालसम्म जनसंख्याको करीब ३५ प्रतिशतले बीमा गरेका छन् ।
साउन–माघसम्म बीमालेख विक्रीबाट १ खर्ब ३ अर्ब ११ करोड रुपैयाँ बीमा शुुल्क संकलन गरेको समितिले बताएको छ । गत आवको सोही अवधिमा यी कम्पनीहरुले ९२ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेका थिए ।
समितिका अनुुसार बीमा कम्पनीहरुको संकलन गरेको बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको सात महीनाको तुलनामा चालू आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन वृद्धि राम्रो देखिएको छ । गत आवको माघ महीनाको तुलनामा २० निर्जीवना बीमा कम्पनीको बीमा शुल्क संकलन चालू आवको सोही अवधिमा २२ प्रतिशतले वृद्धि भएको छ ।
ती कम्पनीले चालू आवको माघ महीनासम्ममा २१ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । यी कम्पनीले गत आवको सोही अवधिमा १७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
त्यसैगरी १९ ओटा जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन चालू आवको माघ महीनासम्ममा गत आवको तुलनामा ९ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीले चालू आवको माघ मसान्तसम्म ८१ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
गत वर्षको सोही अवधिमा यी कम्पनीले ७४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । उक्त अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । उक्त कम्पनीले चालू आवको सात महीनमा २१ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमाशुल्क संकलन शिखर इन्स्योरेन्सले गरेको छ । उक्त कम्पनीले चालू आवको सात महीनामा २ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क संलन गरेको छ ।