काठमाडौं (अस) । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल फाइभपी हुने भएको छ । चैत १७ देखि २० गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुर चितवनमा मेला आयोजना गर्न लागिएको हो ।
उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी कम्पनीका स्टल रहनेछन् । ५ विधाका सम्पूर्ण व्यापारी, व्यवसायीलाई एकै थलोमा एकीकृत गरी व्यावसायिक साझेदारी, नवीनतम प्रविधि प्रदर्शन तथा संवाद गर्न उक्त प्रदर्शनी साझा मञ्च हुने विश्वास आयोजकको छ ।
प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, कन्टेनर, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेयर पार्ट्स, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खाले कागज र स्पेयर पार्ट्स, सिलाइ मेसिनरी उत्पादक, र्याप फिल्म उत्पादक, लेबल उत्पादकलगायतको सहभागिता हुनेछ ।
आयोजकका अनुसार प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित ख्यातिप्राप्त ब्रान्डका मेसिनद्वारा प्रत्यक्ष प्रदर्शनीसमेत सञ्चालन गरिनेछ ।
नेपाल सार्क क्षेत्रमा द्रुत गतिमा बढिरहेको बजार हो । यस प्रदर्शनीले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ एवं प्रोसेसिङका खरिदकर्तालाई एकै ठाउँ भेला गरी वितरक र खरिदकर्ताबीचको सीधा सम्पर्क प्रवर्द्धन गर्नेछ ।