काठमाडैं (अस) । काठमाडौंको भृकुटीमण्डपमा पुस २३ देखि २५ गतेसम्म नेपाल उड अन्तर्राष्ट्रिय उड प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले सातौं संस्करणका रूपमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल अन्तर्राष्ट्रिय फर्निचर एन्ड होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।
उक्त प्रदर्शनीमा विभिन्न देशका १०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका स्टल रहनेछन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रमा आउने नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी सफल हुँदै गएको आयोजकको भनाइ छ ।
प्रदर्शनीमा काठको काम तथा फर्निचर उत्पादनसम्बन्धी मेसिनरी, प्लाइउड, ढोकाझ्याल, फिटिङ्स, काठसँग सम्बन्धित सामान, कच्चा पदार्थ, इन्टेरियर डेकोर, होम डेकोर, होम फर्निचर, अफिस फर्निचर तथा फिनिस्ड प्रडक्टको सहभागिता रहनेछ । प्रदर्शनीले सानादेखि ठूलासम्म सबै उद्योगलाई आफूले प्रयोग गरिरहेका मेसिनलाई परिमार्जित गर्दै प्रभावकारी बनाउन मद्दत गर्नेछ ।