काठमाडौं । नेपाल मैदा उद्योग संघले भारतबाट गहुँ आयात प्रक्रिया सहज बनाइदिन सरकारसँग आग्रह गरेको छ । भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आटाको चरम अभाव भएको भन्दै संघले आयातमा सहजीकरण गरिदिन माग गरेको हो ।
भारत सरकारको प्रतिबन्धपछि मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरीद गरिरहेकाले मैदा/आँटाको मूल्य समेत बढेको संघले बताएको छ । पछिल्लो समय बजारमा गहुँ अभाव हुँदा देशभरका ८० प्रतिशत मैदा उद्योग बन्द हुने अवस्थामा पुगेको र बाँकी उद्योग पनि संकटमा रहेको संघले बताएको छ । मैदा उद्योगले बजारमा मैदा/आटा दिन सक्ने अवस्था नभएको संघको भनाइ छ । यो परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटाअनुसारको गहुँ तुरुन्त आयात हुनुपर्ने संघले बताएको छ । भारतले नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ आयातको कोटा छुट्ट्याए पनि सोअनुसार आयात हुन सकेको छैन ।
‘गहुँको अभावमा मैदा/आटाको अभाव सृजना भएकाले भारत सरकारसँग कुरा गरी चाँडोभन्दा चाँडो थप गहुँ उपलब्ध गराइदिन अनुरोध छ,’ संघद्वारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले दिने भनेको ५० हजार मेट्रिक टन गहुँ प्राप्त हुँदा २० दिनलाई पुग्छ, त्यसकारण कोटाअनुसारको गहुँ तुरुन्त मगाउनुपर्छ ।’