मुलुकमा नयाँ सरकार विषम परिस्थितिमा आएको छ । खासगरी देशको अर्थतन्त्र राम्रो छैन, कोभिड–१९ को महामारी छ । गठबन्धन सरकारको नेतृत्व गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंहदरबार पुग्दा आर्थिक वर्षले नेटो काटेको थियो । असार अन्तिम भइसकेको थियो । आय, उत्पादन र रोजगारी शिथिल भएको तथ्याङ्क तयार हुँदै थियो र छ । राजस्व अपेक्षित उठ्न नसकेको बेला साधारण खर्च भने उच्च दरमा बढेको छ । विकास–निर्माणलाई गति दिने पुँजीगत बजेट खर्च गर्न असारै कुर्नुपर्दा पनि ६५ प्रतिशतभन्दा बढी आँकडामा नदेखिएको विडम्बना छ । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्रमार्फत अर्थतन्त्रको यथार्थ तस्बिर ल्याउने आरम्भमै वचन दिनुभएको छ, श्वेतपत्र तयार भएको छैन । यस्तो बेला राष्ट्रिय योजना आयोगमा डा. विश्व पौडेलको नेतृत्वमा नयाँ टिम आएको छ ।