जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको मुखबाट फुत्केको ‘बूढीगण्डकी परियोजनामा कमिसन’को अभिव्यक्ति विवाद र बहसमा छ । आफ्नो निर्वाचन क्षेत्र गोरखामा पुगेर उहाँले आयोजनामा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले नौ अर्ब कमिसन बाँडेको आरोप लगाउनुभयो । राजनीतिमा पहिला आफ्नो क्षमताले शक्ति आर्जन गर्ने हो, नसके अरूको कमजोरीमा राजनीति गर्ने हो । भट्टराईले दोस्रो बाटो रोज्नुभयो ।
सबै नेता उस्तै हुन् भन्ने जनाधार निर्माण गर्न लाग्नुभयो उहाँ ? आरोप प्रमाणित गर्न उहाँलाई विनम्र आग्रह धेरैले गरेका छन् । यो प्रमाणित हुँदा समकालीन मुख्य राजनीतिक नेतृत्व अवशानउन्मुख हुन्छ र रनभुल्लमै राजनीतिमा लागेकालाई अलिकति राजनीतिक ‘स्पेस’ निर्माण हुन सक्छ ।