नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।
आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बताउनुभयो । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पौडेलले बताउनुभयो ।