बैतडी : सडकमाथिबाट खसेको पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत बैतडीको खोड्पेनजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका सवारीसाधन बीचबाटोमा अलपत्र परेका छन्।राजमार्ग खोल्न सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।