संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मंगलबारदेखि लागू हुने गरी मन्त्रालयमा तानेका छन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम भने मंगलबार आकस्मिक बिदा लिएर बसेका छन् । उनी बिदा बसेकै दिन मंगलबार कार्यालय खुल्नासाथ मन्त्री देवले प्राधिकरणमा पत्र पठाई गौतमलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका हुन् ।
महानिर्देशक गौतमले सोमबार पर्यटनमन्त्री देवलाई चौबीसघन्टे स्पष्टीकरणपत्रको चार पृष्ठ लामो जबाफ बुझाएका थिए । त्यसलगत्तै प्राधिकरणमा आफूपछिका सबैभन्दा वरिष्ठ अधिकारी उपमहानिर्देशक राजन पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएर गौतम मंगलबार बिदा बसेका थिए ।