सिलगडी । राष्ट्रिय जनमोर्चा डोटीले प्रतिनिधि सभा विघटनको विरुद्धमा डोटीको केआइसिं गाउँपालिकको सलेनामा विरोध सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूर पश्चिम इन्चार्ज मनोज भट्टको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै राजमो केन्द्रीय सदस्य मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अधिनायकवादी तरिकाले प्र्रतिनिधि सभा विघटन गरेको बताउँदै तत्कालै प्रतिनिधि सभा पुनःस्थापनाको आवश्यकतामा जोड दिनुभएको थियो ।
राजमोले ओली सरकारको असंवैधानिक तथा अधिनायकवादी कदमको विरुद्ध देशव्यापी आन्दोलन सञ्चालन गरिरहेको नेता भट्टले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा राजमोका सुदूर पश्चिम प्रदेश समितिका कोषाध्यक्ष केशवनाथ योगी, राजमोका डोटी जिल्ला उपाध्यक्ष रमेश अवस्थी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रशान्त थापा, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष उज्जर मगर र युवा नेता नरेन्द्र बलायरले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अन्य पार्टीका थुप्रै सदस्य राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीहरूलाई कार्यक्रममै राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गरिएको थियो ।