यस पालिको विश्वकप फुटबलमा कमजोर ठानिएका र सोच्दै नसोचिएकाहरू चम्किएको चम्कियै छन् । पहिलो पुस्ताले फुटबलमा नामै नसुनेका घाना, उरुग्वे र स्लोभेनियाजस्ता देशहरू विजयी हुँदै फुर्तीसाथ अगाडि बढेका छन् भने फुटबललाई आफनो बपौती नै ठान्ने र राम्रा खेलाडी पनि भएका अनि कयौंपटक विश्वकपमा विजेता, उपविजेता इटली, फ्रान्स आदि चाहिँ पानी पिउन नपाउँदै पहिलो चरणबाटै झिटिगुन्टा बोकेर घर फर्केका छन् । यहीँनेर छ दुःख र अपशोच !
फुटबलमा नामै नचलेकाहरूका यसरी भाग्य चम्कने खेलमा हाम्रो नेपालले किन भाग लिएन ? नेपालले भाग मात्रै लिएको भए विश्व कप जित्ने पक्कापक्की रहेछ भन्ने कुरा पहिलो राउन्डमा पछारिएका र ठडिएका देशहरूको सूचीबाट छर्लङ्ग भइसकेको छ ।
फुटबले खेल त्यसैले जित्छ जसले विपक्षीलाई बढी भन्दा बढी छिर्के हान्न सक्छ र विरोधी पक्षले गोलपोस्टमा गरेको प्रहारलाई ठ्याक्क रोक्न सक्छ ।
अब विचार गर्नुस् त नेपालमा त्यस्ता खेलाडी र गोलकिपर कति छन् ? साँच्चै भन्ने हो भने हाम्रा सडक, संसद्, सिंहदरबार, बल्खु दरबार टेकु दरबार, चेम्बर आदि सबै दरबारहरू त्यस्तै नामुद खेलाडीबाट भरिभराउ छन् ।
ती खेलाडी हात बाँधेर त्यसै बस्दैनन् । केही चाडबाडलाई छोडेर वर्षको बाह्रै महिना आआफ्नो खेल खेलेको खेल्यै छन् । मुलुकको सबै भागमा यिनको नियमित र निःशुल्क प्रशिक्षण अभ्यास चलिरहेको हुन्छ । खेल नै पनि कम हुँदैनन् । अस्ति भर्खर त हो नि पुकदाले सिंहदरबारको गोलपोस्टतिर हानेका बललाई बाहिरबाटै माकुनेले फर्काइदिएको ।
(तीतोमीठोबाट)
वर्ष ५, अंक ४३, २०६७, असार १४– २०