काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डअन्तर्गत बागमती प्रदेश दुग्ध क्षेत्र सुधार समितिले पहिलो पटक सरोकारवालासँग काठमाडौंमा छलफल गरेको छ ।
छलफल कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले अहिले लम्पी स्किन रोगका कारण लाखौं पशुहरू संक्रमित भएको र ५० औं हजारको मृत्यु भएकोले किसानको नोक्सान भएको बताए । साथै यसले दुध उत्पादनमा कमी पनि आएको उनको भनाइ छ । तत्काल दुध अभावको समस्या नदेखिए पनि आउँदो सिजन फागुनबाट दुधको अभाव हुने उनले दाबी गरे ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले अहिले देशमा लम्की रोगका कारण दुध कम हुनुपर्नेमा दुध बढी भएर ‘मिल्क होलिडे’ हुने अवस्था आएको बताए । भारतका सीमाबाट अवैध बाटो हुँदै दैनिक लाखौं लिटर दुध भित्रिँदा दुध उत्पादक किसान समस्यामा परेको उनको भनाइ छ । किसानलाई समस्या परेकाले तत्काल सीमा नाकामा कडाइ गरिनुपर्नेमा उनले जोड दिए ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले अहिलेको समस्या हल गर्न राज्यले सहयोग गर्नुपर्ने धारणा राखे । राज्यले सहयोग नगरे थप विकराल समस्या आउन सक्नेमा उनले चिन्ता व्यक्त गरे ।
बोर्डका निमित्त निर्देशक डा. सजिना ज्ञवालीले अहिले देखिएको समस्या हल गर्न छलफल आयोजना गरेको बताइन् ।
बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटाले छलफलमा दर्शाइएका सबै समस्याको हल गर्न बोर्डले प्रयास गर्ने बताए । अहिले किसानलाई दुध विक्री गर्न समस्या भएको र विक्री भएका उद्योगबाट पनि समयमै भुक्तानी नपाएको उनको भनाइ छ । उनले किसानलाई समयमै दुधको भुक्तानी गर्न उद्योगलाई आग्रह गरे ।