सिन्धुलीको सदरमुकामदेखि सिद्धबाबा मन्दिरसम्म केबुलकार निर्माण हुने भएको छ । केबुलकार सञ्चालनका लागि उद्योग विभागले सिद्धबाबा दर्शन केबलकार कम्पनीलाई अनुमति दिएको छ । करिब २० करोड रुपैयाँको लगानीमा केबुलकार निर्माण हुन लागेको हो ।
सिन्धुली सदरमुकाम ढुंग्रेवास–मल्ल गाउँ, ठुलीचौरदेखि सिद्धबाबा मन्दिरसम्म बन्ने केबुलकारको एकतर्फी लम्बाइ १ हजार ६ सय मिटर छ । केबलकारबाट दैनिक १ हजार २ सय जना ओहोरदोहोर गर्नसक्ने कम्पनीले बताएको छ । उक्त केबुलकार एक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने कम्पनीका प्रबन्ध निर्देशक शंकरनाथ शर्मा अधिकारीले बताए । यसका लागि कम्पनीले भारतको कोलकातास्थित सीआरएसटीएल कम्पनीसँग १७ करोड रुपैयाँमा निर्माण सम्झौता गरेको छ । टोकन मनी (पेश्की) पठाएको १० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौताको शर्त रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । पेश्की रकम एक महिनाभित्रै पठाउने कम्पनीले बताएको छ ।
निर्माणकर्ता कम्पनी सीआरएसटीएलले भारत, श्रीलंका, भुटान आदि देशमा सयभन्दा बढी केबुलकार र रोपवे निर्माण गरिसकेको बताइएको छ । सीआरएसटीएल निर्माणाधीन लुम्बिनी केबलकारको पनि ठेकेदार हो । केबुलकारसँगै कपनीले सिद्धबाबाका मन्दिरनजिक भ्यु टावर, धर्मशाला तथा वनभोजस्थल समेत निर्माण गर्ने योजना बनाएको छ । यसका लगि एक बिघा जमिन किनिसकेको प्रबन्ध निर्देशक अधिकारीले बताए । केबलकार सञ्चालनमा आएपछि भारतीय तथा आन्तरिक पर्यटकको संख्या वृद्धि हुने कम्पनीको आशा छ ।
वर्ष ५, अंक ४४, २०६७, असार २१– २७