नेपालमा चलेको उखान छ, ‘काम गर्ने कालु, मकै खाने भालु ।’ किसानले मरीमरी श्रम र पसिना बनाएर खेतबारी बनाउँछ । मल बीउको जोहो गर्छ । मकै खेती लगाउँछ । मकै पाकेपछि भने किसानले घर ल्याउन नपाउँदै, अझ मकैको सुत्लो छिप्पिन नपाउँदै भालुले सखाप बनाउँछ । भालु रुङ्न किसानलाई हैरान हुन्छ । त्यही परिघटना नभए पनि झन्डै त्यस्तै भएछ चितवनमा । त्यहाँस्थित चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको कसराको घडियाल प्रजनन केन्द्रले घडियाल गोही प्रजनन तथा बढी बढाउमा राम्रो गर्दै गएको छ । चार दशकयता प्रजनन केन्द्रको काम नै गोही हुर्काउने र तिनलाई नेपालका विभिन्न नदीमा छाड्ने हो तर दुःखले हुर्काएर छाडिएको गोही भारतका विभिन्न नदीमा भेटिन थालेका छन् । नेपालका गोही नेपालमै रोक्न कठिन भएछ । संरक्षणमा चुनौती थपिएछ ।