काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले प्रस्तावित हकप्रद शेयरको आकार बढाएको छ । कम्पनी सञ्चालक समितिको हिजो (सोमवार) बसेको बैठकले हकप्रद शेयरको आकार बढाउने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः२ अनुपातमा अर्थात् २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
यसअघि गत असार १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय कम्पनीको हिजो बसेको बैठकले रद्द गर्दै हकप्रदको आकार बढाएको छ ।
प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ ।
हकप्रद निष्कासनबाट प्राप्त हुने पूँजीमध्ये पाँच खपन हाइड्रोपावरमा ५१ प्रतिशत लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ । बाँकी रकम बैंकबाट लिएको दीर्घकालीन कर्जाको भुक्तानी गर्ने कम्पनीले जानकारी दिएको छ ।