यतिखेर रूसले र युक्रेनमाथि गरेको आक्रमणका कारण पेट्रोलको मूल्य वृद्धि भइरहेको छ । पछिल्लो समय नेपालीहरूलाई चिन्तित पर्ने अनि दुःखित तुल्याउने अनेकौं कुरा छन्, निराश बनाउने कारण अनेकौं छन् । जागीरको खोजीमा विदेशिनको संख्या घटेको छैन ।
सरकारी काममा हुने ढिलासुस्ती उस्तै छ । बेरोजगारी पनि बढ्दो छ । आर्थिक सामाजिक सूचकहरू सन्तोष मान्ने खालको छैन । अहिले हाम्रै गाउँठाउँका केही व्यक्तिलाई जम्मा पारेर उनीहरू खुशी वा बेखुशी के छन् भनेर सोध्ने हो भने खुशी भएको खासै अनुभूति हुँदैन ।
तर, नेपालीहरू दक्षिण एशियामा सबैभन्दा खुशी रहेको हालै संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले गरेको एउटा सर्वेक्षणले देखाएको छ । विश्वव्यापी सूचिमा नेपाल ८४ औं स्थानमा छ । पछिल्ला ५ वर्षदेखि फिनल्यान्ड लगातार विश्वको सबैभन्दा खुशी देशका रूपमा रहँदै आएको छ ।
नेपाल यति माथि आएको यो नै पहिलोपटक हो । विगत ५ वर्षयता नेपालको स्थानमा क्रमिक रूपमा सुध्रिरहेको छ । प्रतिव्यक्ति आयमा नेपालभन्दा निकै अगाडि भएका भारतलगायत देशलाई उछिनेर नेपाल कसरी सूचकमा अगाडि आयो ? सर्वसाधारणले मात्रै होइन विज्ञहरूले पनि प्रतिवेदनप्रति प्रश्न उठाइरहेका छन् ।
नेपाल दक्षिण एशियाली देशमध्ये सबैभन्दा खुशी हुनुको कारण प्रतिवेदन तयार पार्न प्रयोग गरिएको सूचक पनि हो । प्रतिवेदन ग्यालपको विश्वव्यापी सर्वेक्षणका साथै खुशी मापन गर्ने अन्य ६ ओटा सूचक प्रतिव्यक्ति जीडीपी, सामाजिक टेवा, स्वस्थ, औसत आयु, जीवनका महत्त्वपूर्ण विकल्पहरू रोज्न सक्ने स्वतन्त्रता, नरकावस्था (डिस्टोपिया), भ्रष्टाचारप्रतिको धारणा र उदारतामा आधारित भएर निकालिन्छ ।
ग्यालपको सर्वेक्षण एउटा काल्पनिक भर्याङ (क्यान्ट्रिलको भर्याङ ) सर्वेक्षणमा आधारित छ । ग्यालपको सर्वेक्षणले व्यवसाय र अर्थतन्त्र, नागरिक सहभागिता, सञ्चार र प्रविधि, विविधता, शिक्षा र परिवार, भावना, वातावरण र ऊर्जा, खाद्यान्न र बसोवास, सरकार र राजनीति, कानून र व्यवस्था (सुरक्षा), स्वास्थ्य, धर्म र नैतिकता, यातायात र काम गरी १४ ओटा पक्षलाई छोएको हुन्छ ।
यसमा सहभागीहरूलाई उनीहरूको वर्तमान जीवन अवस्थालाई शून्यदेखि १० अंकसम्म मूल्यांकन गर्न भनिन्छ । भर्याङको पुछारमा शून्य हुन्छ भने टुप्पोमा १० । यसमा उत्तरदाताहरूले जति थोरै अंक दिए त्यति नै उनीहरूको अवस्था खराब छ भन्ने बुझिन्छ अनि जति अंक धेरै भयो त्यति नै अवस्था राम्रो छ भन्ने हुन्छ । प्रतिवेदनमा यसबाट आएको नतिजालाई जीवनका अन्य तत्वसम्बन्धी नतिजाहरूसँग सहसम्बन्ध खोजिन्छ । यसमा बेरोजगारी र असमानता जस्ता कारकहरूको प्रयोग गरिँदैन ।
पहिलो दुई सूचक प्रतिव्यक्ति जीडीपी, सामाजिक टेवा हरेक नागरिकहरूको भागमा पर्ने औसत सम्पत्ति र सरकारले उपलब्ध गराउने सामाजिक लाभहरूमा अधारित छ । यी दुवैमा नेपालको अवस्था दक्षिण एशियामा सन्तोषजनक छैन । प्रतिव्यक्ति आयमा नेपाल दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा तल छ ।
नेपाल खुशी मुलुकमा सूचिकृत १४७ मध्ये ११७ औं स्थानमा छ । अहिले आर्थिक संकटले गाँजिरहेको श्रीलंका प्रतिव्यक्ति आयको सूचिमा समाविष्ट दक्षिण एशियाली देशमा सबैभन्दा अगाडि अर्थात् ७७ औं स्थानमा छ । आगामी प्रतिवेदनले श्रीलंकाको अहिलेको अवस्था प्रतिबिम्बित गर्ला ।
भ्रष्टाचारप्रतिको धारणामा नेपालको अवस्था दक्षिण एशियाका अन्य देशको भन्दा सन्तोषजनक खालकै छ । सरकारले उपलब्ध गराउने सामाजिक टेवामा पनि नेपाल बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत र अफगानिस्तानमध्ये दोस्रो स्थानमा छ ।
स्वस्थ औसत आयुमा नेपाल सूचिकृत देशहरूमध्ये ९३ औं स्थानमा छ । यो दक्षिण एशियाली देशहरूमध्ये तेस्रो स्थानमा छ । जीवनका महत्त्वपूर्ण विकल्पहरूको चयनमा दक्षिण एशियाली देशहरूमाझ नेपाल चौथो स्थानमा छ । उदारता सूचकमा नेपाल दक्षिण एशियामा सबैभन्दा अगाडि छ । विश्वव्यापी सूचिमा भने नेपाल ३९ औं स्थानमा छ । नेपाल दक्षिण एशियामा सबैभन्दा खुशी हुनुको अर्को कारण यो पनि हो । उदारताको सूचिमा दक्षिण एशियामा दोस्रो स्थानमा रहेको भारत विश्वव्यापी उदारता सूचिमा ४४ औं स्थानमा छ । सूचिको पुछारमा रहेको अफगानिस्तानलाई विश्वको सबैभन्दा दुःखी देशभन्दा पनि हुन्छ । अफगानिस्तान प्रायः हरेक सूचिमा पुछारमा छ ।
सन् २०१२ मा यो प्रतिवेदन सार्वजनिक गर्न थालिएको हो । त्यसयता नेपालले सूचकांकमा ठूलै फड्को मारेको छ । १० वर्षको अवधिमा नेपाल १३५ औं स्थानबाट ८४ औं स्थानमा उक्लिएको छ । अर्थात् ५१ स्थान माथि आएको छ । सूचकांकको अधारमा भन्ने हो भने यस अवधिमा नेपालको खुशी सूचक १ दशमलव शून्य ४२ अंकले बढेको छ । नेपाल सूचकमा सबैभन्दा धेरै फड्को मार्ने १२ औं देशमा पर्छ । दक्षिण एशियाका अन्य देशहरूको वरीयता र सूचक अंक दुवै खस्किएको वा खासै धेरै नबढेको अवस्थामा नेपालले यी दुवैमा गरेको प्रगतिका कारण पनि नेपाल अगाडि देखिएको हो ।
विगत १२ वर्षको अवधिमा वरीयतामा बंगलादेशको प्रगति ठीकै खालको छ भने श्रीलंका र पाकिस्तान क्रमशः १० र ४० स्थान तल झरेका छन् । भारतको खुशीे सूचक अंक १ दशमलव शून्य १२ अंकले घटेको छ । भारत पनि १११ औं स्थानबाट झरेर १३६ औं स्थानमा आएको छ । प्रतिवेदन सार्वजनिक हुन थालेयता सन् २०२० सम्मको हरेक वर्षमा भारत सूचीमा ओरालो लागेको छ । सन् २०२० मा यो १४४ औं स्थानासम्म आएको थियो पछिल्ला २ वर्षमा भने यो १३९ र १३६ औं स्थानमा उक्लिएको छ । माल्दिभ्स र भुटान प्रतिवेदनमा समाविष्ट छैनन् ।
आर्थिक सूचकांकहरूमा हुने प्रगतिले सर्वसाधारणरूको खुशी र उनीहरूको हितावस्थाको मापन गर्न सक्दैनन् । मानिसहरू कतिको खुशी छन् उनीहरूको हितावस्था कस्तो छ भनेर मापन गर्न विश्व खुशी प्रतिवेदन जारी गर्न शुरू गरिएको हो । तर, प्रतिवेदनले सीमित सूचकहरूलाई मात्रै हर्ने भएकाले यसले नेपालीहरूको वास्तविक अवस्था चित्रण गरेको छैन ।