सत्ता गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेर प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल निगजढ पुगेका हुन् ।शीर्ष नेताहरुको साथमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पनि निरीक्षणमा गएका छन् ।नेपाली सेनाको हेलिकप्टर मार्फत निजगढ पुगेको टोली काठमाडौँ–मधेश फास्ट ट्रयाकको जिरो किलोमा ओर्लिएको थियो । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरे ।वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि गठबन्धनका शीर्ष नेताहरु निरीक्षणमा निस्किएका हुन् । उनीहरुले निजगढमै विमानस्थल बनाउने दोहोर्याएका छन् ।