चितवन। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरीद अनुगमन कार्यालयले भरतपुर महानगरपालिकामा ठेक्का लिएर काम अलपत्र पार्ने चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न सिफारिश भएअनुसार तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको कार्यालयले बताएको छ ।
भरतपुर महानगरपालिकाको सिफारिशमा भरतपुर महानगरपालिका–१ को सशक्तशरण गोले अभिषेकको निर्माण कम्पनी अर्बन कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले भरतपुर महानगरपालिका वडा नं २८, १५, ११ र ५ मा सडक निर्माणका ६ ओटा काम अलपत्र पारेको महानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख सन्तोष आचार्यले जानकारी दिए । भरतपुरकै वडा नं २० र ६ मा सडकको काम अलपत्र पार्ने निर्माण न्यौपानेको कम्पनी शिवालय बिल्डर्सलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यसैगरी माधव घिमिरेको कश्यप निर्माण सेवा तथा सप्लायर्स एक वर्ष ६ महीनाका लागि कालोसूचीमा परेको छ । पूर्वाधार महाशाखा प्रमुख आचार्यका अनुसार यो कम्पनीले भरतपुर महानगरपालिका–५ मुनालचोक दक्षिणको बाटो निर्माणको ठेक्का लिएर काम नै गरेको थिएन । निर्माण सामग्रीको मूल्य बढेकाले कतिपय कम्पनीले काम नगरेको उनको भनाइ छ । भरतपुर महानगरपालिका–११ मा रहेको हेमराज बस्यालको निर्माण कम्पनी पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । कम्पनीले भरतपुरमा पर्ने पूर्व–पश्चिम राजमार्ग खण्डसहित विभिन्न सडक मर्मतको ठेक्का लिएर काम नगरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चन्द्रेश्वर शाहले बताए ।
त्यसैगरी पूर्वाधार विकास कार्यालय भरतपुरको सिफारिशमा नागार्जुन शंकरमाली जेभी काठमाडौं, नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि र शंकरमाली निर्माण सेवा प्रालि कालोसूचीमा परेका छन् । यी कम्पनीले मकवानपुरको सामरी पुल निर्माण नगरी छाडेको कार्यालयका प्रमु्ख वीरेन्द्र चौधरीले जानकारी दिए ।