भदौ ९, नयाँ दिल्ली (भारत) । भारतका एकाधिकार विरोधी नियामकहरुले घरेलु कार निर्माता कम्पनी मारुती सुजुकीलाई करीब २ करोड ७० लाख डलर जरिवाना तिराएका छन् । डिलरहरुमा मूल्य छूटमा जानीजानी बन्देज लगाएकोले कम्पनीलाई सो जरिवाना तिराइएको हो ।
मारुती सुजुकी जापानी कम्पनी सुजुकी मोटरको सहायक कम्पनी हो । कम्पनीले डिलरहरुलाई करारमा सीमित गरिएको बाहेक अरु छूट दिन बन्देज गर्ने गरी करार गरेको भारतको प्रतिस्पर्धा आयोगले सोमवार बताएको हो । यसले प्रतिस्पर्धालाई क्षति पुर्याएको नियामकको ठम्याई छ ।
डिलरले थप दिएको छ कि छैन भनेर छड्के हान्न कम्पनीले मानिसहरुलाई ग्राहकको रुपमा पठाएको पनि नियामकले बताएको छ ।
आफूले आदेशको पूर्ण जाँच गर्ने अनि कानूनअनुसार थप कदम चाल्ने कम्पनीले बताएको छ । मारुती सुजुकी भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी हो । भारतीय बजारमा यसको आधा भन्दा धेरै हिस्सा छ ।