म्याग्दी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बंगुरपालन र सुन्तलाखेती गरेका कृषकलाई १ करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गरेको छ ।
सुन्तला र बंगुरको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता विस्तारका लागि कुल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको हो । परियोजनाले आर्थिक वर्ष २०७७/७८ मा सुन्तला जोनमार्फत ६६ लाख १० हजार र बंगुर जोनमार्फत ३६ लाख ५६ हजार अनुदान वितरण गरिएको बताएको छ ।
कृषि अधिकृत विक्रम बस्यालले सुन्तला जोनमार्फत ३ लाख २५ हजार खर्च गरेर ५० प्रतिशत अनुदानमा २० हजार ७०० बिरुवा वितरण गरिएको जानकारी दिए । कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत ४० मिनिटेलर, दुईओटा ग्रासकटर, दुईओटा ह्याण्ड स्प्रेयर, २६ ओटा पावर स्पेयर, ५६ ओटा सिकेचर, ५६ ओटा प्रुनिङ सअ र १७ डिजिटल काँटा खरीद गर्न ५० प्रतिशतका दरले १२ लाख ५७ हजार अनुदान उपलब्ध गराइएको छ ।
जिल्लाका सिगाना, बनौं, भकिम्ली, दोसल्ले र पात्लेखेतमा नर्सरी स्रोत केन्द्र स्थापना भएको छ । मंगला माविमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालनमा ३ लाख ३ हजार खर्च भएको छ । ४७५ प्लास्टिक क्रेट खरीद गर्न ५० प्रतिशतका दरले १ लाख ४२ हजार अनुदान वितरण भएको छ । बेनी, बागलुङ नगरपालिका, जलजला, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ५२ वडामा सुन्तला जोन कार्यक्रम लागू भएको छ ।
यसैगरी इकाइमार्फत सञ्चालित बंगुर जोन कार्यक्रमअन्तर्गत १६ बंगुर फार्म तथा कृषकले विभिन्न शीर्षकमा ३६ लाख ५६ हजार अनुदान पाएको नायब पशु सेवा प्राविधिक बलबहादुर ओलीले जानकारी दिए । बंगुर फार्मको नयाँ पूर्वाधार निर्माण, पुराना गोठ सुधार र व्यवस्थापन, गोबरग्यास निर्माण, मासु पसल सुधार गरेका छन् । रासस