महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काममा ढिलाइ भएको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामा पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने बाँध, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको हो । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटफुट रूपमा भए पनि बाँध निर्माणलगायत काम भने शुरू नै हुन सकेको छैन ।
पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन स्वीकृत भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा काम अघि बढ्न नसकेको निर्माण कम्पनीले बताएको छ । यसअघि ठूला ढुंगाको गाइडबण्ड बनाउने सम्झौतामा रहे पनि त्यसको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल भएको हो । गाइडबण्ड बनाउन करीब १ लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताइएको छ ।
पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इन्जिनीयर किशोरराज पाण्डेयले गाइडबण्डको डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा आर्थिक विषय नटुंगिएको बताए । ‘गत फागुन २३ गते डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहँुदा काममा ढिलाइ भयो,’ इन्जिनीयर पाण्डेयले भने, ‘डिजाइन परिवर्तनसँगै रकम पनि तल–माथि हुन्छ ।’
‘अब वर्षात् नजिकिँदै छ र यसका कारण खोलाभित्रको काम प्रभावित हुन्छ,’ उनले भने, ‘अन्य निर्माण भने चलिरहेको छ ।’ गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करीब २० करोडभन्दा बढीको क्षति पुर्याएको थियो । त्यसैगरी पुलसँगै सात दशमलव आठ किलोमिटर ६ लेनको पहुँचमार्गअन्तर्गत चार किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको छ । रू. तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । पुल बने सुदूरपश्चिमको आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । उक्त आयोजनाको निर्माण दु्रतगतिमा गर्न महाकाली तटीय क्षेत्रका स्थानीयवासीले दबाब दिँदै आएका छन् ।
योजनामा पुलको दुवैतर्फ ५ हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने व्यवस्था छ । २०७४ भदौदेखि पुल निर्माण शुरू भएकोमा कारोना महामारीका कारण दुई पटकसम्म प्रभावित बनेको थियो । रासस