कालो सुनको उपनामले चिनिने अलैंचीको मूल्य गत वर्षको तुलनामा यस वर्ष १ सय ५५ प्रतिशतसम्म बढेको छ । उत्पादनमा कमी आएसँगै मूल्य बढेको बताइन्छ । खासमा नेपालको अलैंची भारत निर्यात हुने र यसको मूल्य त्यहाँका व्यापारीले तय गर्ने भएकाले नेपाली किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् र यसको मूल्यमा निकै अन्तर आउने गरेको छ ।
गतवर्ष प्रतिमन २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य ६९ हजार रुपैयाँसम्म पुगेको छ । स्मरणीय के छ भने १० वर्षअघि यसको मूल्य १ लाखसम्म पुगेको थियो । बीचमा यसको मूल्य झरेको र अहिले उकालो लाग्न थालेको हो । अलैंचीको मूल्य घटेको मात्र होइन, बजार नै पाउन गाह्रो भएपछि धेरै किसानले अलैंची खेती छाडेका थिए । अहिले भने किसानलाई राहत भएको छ ।
अलैंचीको उत्पादनका लागि नेपालको पूर्वीक्षेत्र प्रख्यात रहे पनि धेरै जिल्लामा यसको खेती भइरहेको छ । मूल्य र बजारको समस्याले यसको विस्तारमा रोक लागेको थियो । तर, यसपालि मूल्य बढ्दा किसानहरू यसतर्फ पुन: आकर्षित हुने सम्भावना बढेको छ ।
नेपालका प्राय: क्षेत्रमा अलैंचीको खेती गर्न सकिन्छ । तर, मौसमको प्रतिकूलताले यसको उत्पादन घटीबढी भइरहन्छ । यस वर्षको मौसमले साथ नदिँदा अलैंचीको उत्पादन आधा घटेको छ । उत्पादन घटे पनि बढी मूल्य पाएकाले किसानलाई राहत भएको छ । नेपालमा सामान्यतया ६ हजारदेखि ८ हजार मेट्रिक टनसम्म अलैंची उत्पादन हुन्छ । अलैंची खेती सजिलो र बढी मूल्य आउने भएकाले नै यसलाई कालो सुनको उपनाम दिइएको हो । उच्च मूल्य र कम तौल भएकाले ढुवानी सस्तो पर्छ । अन्य बाली नहुने भिरालो जमीनमा समेत यसको खेती गर्न सकिन्छ । नेपालका खोल्साखोल्सी जहाँ खेतीपाती हुँदैन ती क्षेत्रमा समेत यसको खेती गर्न सकिन्छ । पूर्वी नेपालमा बढी खेती हुने भनी यो परिचित भए पनि पछिल्लो समय अन्य भूभागमा समेत यसको खेती विस्तार भएको छ । पुरानो बगानमा उत्पादन घट्न थालेको देखिन्छ भने विभिन्न रोगहरू पनि लाग्ने देखिन्छ । त्यस्तै माटो र चिसोको व्यवस्थापन नमिल्दा पनि यसको खेती प्रभावित भएको छ । यसको खेतीका लागि अन्तरराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले विभिन्न किसिमले किसानलाई यसको खेतीबारे चेतना दिइरहेको पाइन्छ । तर, अलैंचीको बजारको समस्या भने देखिन्छ ।
सरकारले उत्पादनदेखि बजारीकरणसम्ममा किसानलाई थप सहयोग गर्न आवश्यक देखिन्छ । अलैंची जस्तो नगदे बालीको उत्पादनदेखि प्रशोधनसम्म यन्त्रको प्रयोग गर्ने हो भने सम्भावना अझ धेरै छ ।
अलैंचीले राम्रो बजार नपाउनुमा यसको गुणस्तर पहिलो विषय हो । दोस्रो यसलाई सुकाउने प्रविधि हो । परम्परागत तरीकाले यो सुकाउँदा धूवाँ आएर यसले मूल्य पाउन नसकेको देखिन्छ । तर, अहिले आधुनिक भट्टीमा सुकाउन थालेपछि त्यो समस्या हटेको छ । तैपनि ढुसीको संक्रमणले गर्दा विक्री भइसकेको अलैंची फिर्तासमेत आउने गरेको बताइन्छ । त्यसैले खेतीदेखि भण्डारणसम्मका क्रियाकलापमा आधुनिक यन्त्रको प्रयोग गर्नु आवश्यक देखिन्छ ।
अर्को, अलैंची विक्रीका लागि भारतीय व्यापारीमाथि मात्र भर पर्नु हुँदैन । अहिले भारतीय व्यापारीले तय गरेको मूल्यमा अलैंची विक्री गर्नुपर्ने बाध्यता छ । भारत आफै अलैंचीको उपभोक्ता होइन । उसले नेपालसँग किनेका अलैंची प्रशोधन वा अर्धप्रशोधन गरेर तेस्रो मुलुकमा निर्यात गर्छ । खाडी मुलुकमा यसको निकै राम्रो बजार छ तर नेपालले त्यहाँ आफै निर्यात गर्न सकिरहेको छैन । आफै निर्यात गर्न सक्यो भने अलैंचीको दिगो बजार र राम्रो मूल्य कायम हुन्छ । त्यसतर्फ सरकारले कूटनीतिक पहल गरेर पहुँच स्थापित गरिदिनुपर्छ । त्यस्तै प्रशोधन गरेर अलैंची निर्यात गर्ने हो मूल्य अभिवृद्धिको फाइदा पनि लिन सकिन्छ । त्यस्तै अलैंचीको केही तत्व निकालेर अलैंची विक्री गर्न सक्ने हो भने त्यसले पनि थप फाइदा हुन्छ । अलैंचीको तेलको मूल्य निकै बढी छ । त्यस्तो तेल निर्यात गर्न सक्ने हो भने यसले उचित मूल्य पाउँछ । अर्को, नेपालकै बजारमा पनि अलैंचीका उत्पादन प्रयोग गर्न सकिन्छ । अलैंचीको तेल नेपालमै पनि खपत गराउन नसकिने होइन ।
अलैँचीमा अन्य खेतीमा जस्तो बढी खट्न नपर्ने र जस्तोसुकै माटो र भौगोलिक बनावटमा पनि खेती गर्न सकिने भएकाले नेपाली किसानलाई नगदेखेतीका आकर्षित गर्न अलैंची खेतीतर्फ प्रोत्साहित गर्न जरुरी छ । सामुदायिक वनमा पनि यसको खेती गर्न सकिने भएकाले समूहमार्फत पनि खेती गराउन सकिन्छ । यसो भयो भने यो वास्तवकै नेपाली किसानका लागि कालो सुन बन्न सक्छ । त्यसैले सरकारले उत्पादनदेखि बजारीकरणसम्ममा किसानलाई थप सहयोग गर्न आवश्यक देखिन्छ । अलैंची जस्तो नगदे बालीको उत्पादनदेखि प्रशोधनसम्म यन्त्रको प्रयोग गर्ने हो भने सम्भावना अझ धेरै छ । यस्तो सम्भावनालाई बढावा दिने काम सरकारको त हुँदै हो, यसमा निजीक्षेत्र तथा सर्वसाधारणले पनि काम गर्न सक्छन् ।