संघको कोभिड संकट व्यवस्थापन कोषमा नौ लाख

तनहुँ। तनहुँ उद्योग वाणिज्य संघको सक्रियतामा स्थापना गरिएको कोभिड संकट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ संकलन भएको छ। कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि संघले स्वास्थ्यसामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो। यसअघि आठ लाख ४२ हजार ७३७ रुपैंयाँ संकलन भएकोमा शुक्रबार मात्रै ५५ हजार नौसय ९० रुपैंयाँ थपिएको संघले जनाएको छ। रासस

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकार : कोरोनाबाट मृत्यु भएकाको परिवारलाई १ लाख दिने घोषणा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संक्रमणबाट मृत्यु भएकाको परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता विमला केसीले कोरोना संक्रमणबाट मृत्यु भएका प्रदेशका नागरिकको परिवारलाई राहतस्वरूप १ लाख रकम प्रदान गर्ने निर्णय गरिएको बताइन् । ‘विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको छ,’ उनले भनिन्, ‘उक्त रकम कोभिड–१९ सँग सम्बन्धित समस्या समाधानका लागि खर्च गरिनेछ ।’ अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न प्रदेशका सबै जिल्लाका अस्पताललाई एक/एक करोड दिने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरेको जानकारी उनले दिइन् । यस्तै प्रदेश सरकारले अस्पताल भर्ना भएका कोरोनाका बिरामीलाई पौष्टिक खाना खुवाउन दैनिक ४ सयदेखि ६ सय रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । ‘हुम्ला, मुगु र डोल्पाका बिरामीलाई ६ सय रुपैयाँ, कालीकोट र जुम्लाका बिरामीलाई ५ सय रुपैयाँ र अन्य जिल्लाका बिरामीलाई खानाका लागि दैनिक ४ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,’ प्रवक्ता केसीले भनिन्, ‘बैठकले कोभिडका बिरामीका लागि प्रदेश अस्पतालमा ५ सय बेड तयार गर्ने निर्णय पनि गरेको छ ।’ अक्सिजन सहितका १ सय बेड तत्काल सञ्चालनमा ल्याउन र ३ सय बेडको तयारीका लागि प्रिफ्याबको हल बनाउन नेपाली सेनालाई जिम्मा दिने निर्णय भएको समेत प्रवक्ता केसीले जानकारी दिइन् । उनका अनुसार प्रदेशभर कार्यरत स्वास्थ्यकर्मीमध्ये ७५ प्रतिशतलाई कोभिडको उपचारमा परिचालन गर्ने निर्णय गरिएको छ । यस्तै कालीकोट, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालमा अक्सिजनसहित एक सय बेड र हुम्ला, मुगु र डोल्पामा अक्सिजनसहित ५० बेड तयार गर्ने निर्णय भएको छ ।