यतिखेर तरकारी र फलफूलको मूल्य अचाक्ली बढेको छ । मूल्यवृद्धि हुनुमा अनेक कारण जोडिए पनि मुख्य रूपमा स्वदेशमा पर्याप्त उत्पादन हुन नसक्नु नै हो । स्रोतमै मूल्यवृद्धि भएपछि बजारमा त्यसको असर परिरहेको छ ।
समग्र कृषिक्षेत्रको विकासका लागि अहिलेसम्म भए/गरेका प्रयासबाट सकारात्मक नतिजा आउन नसकेको वर्तमान अवस्थामा विगतका अनुभवबाट पाठ सिक्दै अब नयाँ पद्धतिबाट अघि बढ्नुपर्ने बेला आएको छ ।
स्वदेशमै उत्पादन हुनसक्ने तरकारी र फलफूल पनि विदेशबाट आयात भइरहेको छ । कृषिक्षेत्रलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने माग आजको होइन । कृषि सुधारका लागि अनेक कार्यक्रम शुरू गरिएका पनि छन् । तर, व्यवहारमा भने कृषि उत्पादन गिर्दो छ । उत्पादन गिर्दो अवस्थामा पुग्नाले नेपाल कृषि खेतीका लागि उपयुक्त छ भन्ने विज्ञहरूको भनाइले गिज्याइरहेको देखिन्छ ।
नेपालमा उपभोग हुने अधिकांश खाद्यान्न, तरकारी तथा फलफूल उत्पादन यहीँ नहुने होइन । कुनै बेला अत्यधिक उत्पादनका कारण कृषि उपजले मूल्य नपाएको गुनासा पनि आउँछन् । कहिले असाध्यै मूल्यवृद्धि हुने र कहिले बजार नपाउने समस्या नेपालको अव्यवस्थित र योजनाविहीन कार्यसम्पादनका उदाहरण हुन् । कृषिका लागि उत्पादन वृद्धि गर्न जति आवश्यक हुन्छ, त्यसरी नै बजारीकरणको पनि जरुरी हुन्छ ।
उत्पादन भइहाल्यो भने पनि लाभजति बिचौलियाले लिने अवस्था छ । बिचौलियालाई व्यवस्थित नगरिएको हुँदा उनीहरू बदनाम भएका छन् । किसान र उपभोक्ताबीच बिचौलिया आवश्यक हुन्छ । तर, त्यसलाई कानुनी दायरामा ल्याएर एउटा निश्चित प्रणाली स्थापना नगरिएको हुँदा उनीहरूले मूल्यमा अनुचित चलखेल गर्न पाउने अवस्था छ । उत्पादनलाई बजारसँग जोड्ने बलियो प्रणाली नभएकै कारण नेपाली उत्पादनले उचित मूल्य पाउन नसकेको हो । त्यही कारण सम्भाव्यता भएर पनि तरकारी र फलफूल उत्पादनमा पर्याप्त लगानी भइरहेको छैन ।
तरकारी तथा फलफूलको आपूर्तिका लागि भारत र चीन आदि देशसँगको निर्भरता बढ्दो देखिन्छ । अहिले आयातित तरकारी र फलफूलको मूल्य निकै बढेकाले आफ्नै देशमा उत्पादन बढाउनुपर्छ भन्ने सोच पलाउन थालेको छ जुन सकारात्मक छ ।
अहिले आयात भइरहेका धेरैजसो तरकारी र फलफूल नेपालमा उत्पादन गर्न सकिने राम्रै सम्भावना भएका वस्तु हुन् । अन्नबालीभन्दा तरकारी र फलफूलको बजार पाउन सजिलो पनि हुन्छ । जहाँ जहाँ यातायातका साधन पुगेका छन् ती क्षेत्रमा तरकारी खेती व्यावसायिक बन्दै गएको पनि छ ।
तर, ठूलो परिमाणमा खेती हुन सकेको छैन । बजार सूचनाको अभावमा कहिले तरकारी विक्री नभएर बारीमै फाल्नुपर्ने बाध्यता आउँछ भने कहिले अपुग भएर आयात गर्नुपर्ने हुन्छ । किसानका तरकारी नबिकेर बारीमा फाल्नुपर्ने अवस्थामा पनि आयातित तरकारीले भने राम्रो बजार पाइरहेको देखिन्छ । नेपालको कृषिक्षेत्रको ठूलो समस्या नै यही हो ।
उत्पादनलाई बजारसँग जोड्नुपर्नेमा अनुदानको सस्तो लोकप्रियतामा सरकार रमाउने गरेको छ । सरकारले दिने अनुदान पनि वास्तविक किसानभन्दा केही टाठाबाठाले मात्रै पाउने गरेका छन् । त्यसैले प्रभावकारी बजार प्रणाली स्थापना नै कृषि उत्पादन बढाउने महत्त्वपूर्ण आधार हो । अहिले तरकारी र फलफूल निकै महँगिएकाले यिनको खेतीका लागि सरकारले केही नयाँ खालको नीतिगत निर्णय गर्ने सही समय हो । बजार सूचनाको सहज पहुँचका लागि एप बनाउने, कुन समयमा कति माग हुन्छ र कति क्षेत्रफलमा कुन खेती हुँदै छ जस्तो जानकारी किसानलाई दिने लगायतका काम गर्ने हो भने उनीहरूलाई सम्भावित बजार हेरेर खेतीको रणनीति तय गर्न सहज हुन्छ । प्रतिफलको सुनिश्चितता भएमा स्वाभाविक रूपमा उत्पादन बढ्छ । त्यसैले, बजार व्यवस्थापनबाट कृषि उत्पादन बढाउने नीति लिन सकिन्छ ।
समग्र कृषिक्षेत्रको विकासका लागि अहिलेसम्म भए/गरेका प्रयासबाट सकारात्मक नतिजा आउन नसकेको वर्तमान अवस्थामा विगतका अनुभवबाट पाठ सिक्दै अब नयाँ पद्धतिबाट अघि बढ्नुपर्ने बेला आएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आउने क्रममा छ । अबको बजेटमा साँच्चीकै कृषिक्षेत्रलाई सुधार गर्ने योजना आउनुपर्छ । अहिलेसम्मका सबै परिघटनाबाट पाठ सिक्दै कृषिक्षेत्रलाई उच्च प्राथमिकता दिने कार्यक्रम आए मात्र सन्तोष मान्नुपर्ने हुन्छ ।