भदौ ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा दुई पटकसम्म निःशुल्क गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
मंगलवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ जारी गर्दैं राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोग एक महीनामा दुई पटकसम्म निःशुल्क गर्न निर्देशन दिएको हो ।
‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई ओटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ । दुईभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रूपैयाँसम्म शुल्क लिन सक्ने बताइएको छ ।
यसअघि बैंकहरुले एक बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा मनपरी शुल्क लिने गरेका थिए । कोरोना महामारी फैलिएपछि राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोग केही महीना निःशुल्क पनि गरेको थियो ।