युरोपेली लगानी बैंक (ईआईबी) र नेपाल सरकारबीच दीर्घकालीन लगानीसम्बन्धी फ्रेमवर्क सम्झौता भएको छ । नेपालको आर्थिक विकास र ऊर्जालगायतका पूर्वाधारमा लगानी गर्नका लागि भएको यो सम्झौता निश्चयै पनि सकारात्मक छ । हुन त कुनकुन आयोजनामा कतिकति लगानी कुन शर्तमा आउँछ भन्ने विषयमा परियोजना विशेष सम्झौता हुनुपर्छ । तर, देशमा लगानी वर्ष चलिरहँदा युरोपेली युनियनको लगानी बैंकसँग यस किसिमको सम्झौता हुनुले यहाँ लगानीको ढोका भने निश्चय पनि खुलेको छ । यो बैंकले यस किसिमको फ्रेमवर्क सम्झौता गरेका सीमित एशियाली देशमा पर्नुले नेपाल उसको प्राथमिकताको क्षेत्र रहेको प्रमाणित गर्छ । यसका साथै, देशले जलविद्युत्मा लगानीलाई पहिलो प्राथमिकतामा राखेको बखत भएको यस किसिमको सम्झौता ऊर्जा विकासका लागि पनि सकारात्मक हो ।
फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्ने क्रममा ईआईबीकी उपाध्यक्ष म्यारडालेना अभरिज आर्जाले यो सम्झौता नेपाली इतिहासमै महत्त्वपूर्ण रहेको र नेपालमा लगानी भित्त्याउनका लागि कोसेढुंगो हुने बताइन् । भोलि यो सम्झौताको प्रतिफलस्वरूप आउने परियोजनाहरूले त्यसो हो वा होइन भन्ने कुरा बताउनेछन् । तर पनि नेपालको जलविद्युत् विकासमा सहयोग गर्ने हिसाबले जुन रूपमा सम्झौता भएको छ, त्यसलाई अधिकाधिक सदुपयोग गर्न नेपाल सक्षम हुनुपर्छ ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक २३५, बुधवार, २७ वैशाख, २०६९