युवाको सक्रियता बढेसँगै कीर्तिपुर क्षेत्रमा केही वर्षदेखि निरन्तर रूपमा बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खी, काँ बाजा बजाउन आकर्षण बढेको छ। यसअघि दुई दशकसम्म यहाँका युवा पाश्चात्य सङ्गीतमा रमाउने गर्थे। वरिष्ठ सङ्गीतकार तीर्थ मालीले केही वर्षदेखि बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खीलगायतका बाजागाजामा युवा पुस्ताको आकर्षण बढेकाले आफूहरूलाई भ्याइनभ्याइ हुने बताउनुभयो। कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पहिचानसहितको विशेष नगर घोषणा पछि यहाँका गुठीगाना, खलः पुच, सांस्कृतिक समूह र नाट्यमण्डलीको जन्म भइरहेको छ।