वैशाख २५, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ९५ अंक बढेर बन्द भएको छ ।
२२०४ विन्दुसम्म झरेको नेप्से अन्त्यमा भने २२५६ विन्दुमा पुगेर बन्द भएको छ ।
यस अवधिमा २३३ धितोपत्रको ३३ लाख ४१ हजार २१४ कित्ता शेयरको २७ हजार २२९ पटक कारोबार भएको छ । उक्त कारोबारमा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ बराबरको शेयर खरीद विक्री भएको हो ।
कारोबारमा आएका २३३ धितोपत्र मध्ये जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ६७२ रुपैयाँ पुगेको छ । त्यसैगरी दोस्रोमा घलेम्दी हाइड्रोको शेयर मूल्य ८ दशमलव ८२ प्रतिशत वृद्धि भएर २३२ रुपैयाँ पुगेको छ ।
विगत ७ कारोबार दिनदेखि लगातार घटेको बजार आइतवार बढेर बन्द भएको छ । वैशाख १४ गते ५ दशमलव १७ अंक बढेको हो भने बाँकी सबैदिन बजार घटेर बन्द भएको थियो ।
आइतवार एक घण्टा अवधिमा नेप्से परिसूचक २२०४ बिन्दूसम्म झरेको थियो । बजार घटेर तल्लो विन्दुमा आएकाले आइतवारको बजारमा खरीकदर्ता आएको देखिन्छ ।
यस अघिको बजार बढेर ३२ सय बिन्दुमा पुगेर करीब २२ सय सम्म बजार आउँदा अधिकांश कम्पनीहरुको शेयरमूल्य ५२ हप्ताको न्यून विन्दुमा झरेको छ ।
यसले गर्दा पनि दीर्घकालिन लगानीकर्ताले यसलाई अवसरको रुपमा लिएको देखिन्छ । लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष राम्रो सँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।
आइतवार सबैभन्दा बढी उन्नतिसहकार्य लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९२ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार १९७ मा झरेको छ ।
त्यसैगरी दोस्रोमा एनआईसी एशिया सेलेक्ट ३० को इकाई मूल्य ४ दशमलव शून्य ६ प्रतिशत घटेर ८ दशमलव ५० रुपैयाँ कायम भएको छ ।
आइतवार सर्वाधिक शेयर खरीदविक्री नागरिक लगानी कोषको भएको छ । कम्पनीको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ७३८ कायम रुपैयाँ रहेको छ । कम्पनीले हालसम्ममा २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छैन । सोही कारण पनि सर्वाधिक शेयर खरीदविक्री भएको लगानीकर्ताको भनाइ छ ।
सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा हिमालयन डिष्टीलरीको ४ करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचक मध्ये बैंकिङ् समूहको परिसूचक शून्य दशलमव १७ प्रतिशत घटेको र लघुवित्त समूहको परिसूचक स्थिर रहेको छ । बाँकी ११ ओटै समूहको समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो ।
सबैभन्दा बढी वित्त समूहको समूहगत परिसूचक ३ दशमलव ३५ प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरी विकास बैंक समूहको २ दशमलव ८४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ५० प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ७१ प्रतिशत,लगानी समूहको २ दशमलव ०५ प्रतिशत,जीबन बीमा समूहको शून्य दशमलव ३३ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २२ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशलमव ४६ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशलमव ०९ प्रतिशत,अन्य समूहको २ दशमलव ११ प्रतिशत र ब्यापार समूहको समूहगत परिसूचक शून्य दशमलव २४ प्रतिशतका दरले वृद्धि भएको छ ।