किसेदीखोलाको माथिल्लो गाउँमा देउकी मिजारको कच्ची घर छ, जुन लमजुङको दोर्दी गाउँपालिका-३, श्रीमञ्ज्याङमा पर्छ । उमेरले ६ दशक पुग्नै लागेकी देउकीको आँखाले आधा उमेरमै धोका दियो । उनकै भाषामा भन्नुपर्ला दुबै आँखा नदेख्ने भएपछि २५ वर्षजतिकै उमेरमा बायाँ आँखा बनाइन् । त्यही आँखाले पनि भेउ पाउन नसक्दा उनी छट्पटिइन् । घरमा एउटी छोरी पनि खुट्टा भाँचिएर समस्यामा छन् ।