काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको भैंसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायांकन स्थल (स्टुडियो) निर्माणका लागि आवश्यक प्रक्रिया पूरा भएको छ । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) लगायत आवश्यक तयारी पूरा भई निर्माण प्रक्रिया अघि बढाइएको चलचित्र विकास बोर्डले जनाएको छ ।
काभ्रेको बनेपा नगरपालिका–१० र १३ को सीमास्थित भैंसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी पूरा भई भौतिक निर्माण प्रक्रिया सुरु भएको बोर्ड अध्यक्ष दयाराम दाहालले बताए ।
‘भैंसेपाटीमा निर्माण हुने फिल्म सिटीको प्रशासनिक तयारी पूरा भएको छ । सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ । त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्’, उनले भने ।
उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायांकन स्टुडियो निर्माण हुनेछ । इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खाले तथा प्रोटेबल सेट निर्माण गरिने अध्यक्ष दाहालको भनाइ छ । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्न चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना बनाइएको छ ।
स्टुडियो निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनलगायत आवश्यक प्रशासनिक कार्य गर्न २ करोड बजेट विनियोजन भएको सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए । ‘बनेपास्थित भैंसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ । यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो’, उनले भने ।
चलचित्र छायांकन स्टुडियोका लागि भैंसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायांकन स्टुडियोको डिपिआर बनाई काम सुरु गरिने जनाइएको छ । रासस