काठमाडौं । प्रधानमन्त्री शेयरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको समाचार प्रकाशनमा आएसँगै शेयरबजारमा त्यसको सकारात्मक प्रभाव देखियो । यद्यपि यो उत्साह धेरै दिन टिकेन ।
निर्वाचन आयोगले निर्वाचन मिति प्रस्ताव गरेको दिन माघ १८ गते नेप्से परिसूचक १९ दशमलव २९ अंकले वृद्धि भएर २८९१ दशमलव ३३ विन्दुमा बन्द भयो । तर, त्यसपछिको पहिलो कारोबार दिन बिहीवार भने नेप्से परिसूचक १४ दशमलव ६० अंकले घटेर २८७६ दशमलव ७४ विन्दुुमा बन्द भएको छ ।
बिहीवार नेप्से परिसूचक घटेर बन्द भएको भएपनि रू. ८ अर्ब ६१ करोड बराबरको शेयर कारोबार भएको छ । आगामी निर्वाचनको समयमा शेयरबजारले नयाँ विन्दु कायम गर्ने अधिकांश लगानीकर्ताको विश्वास छ ।
शेयरबजारका एक सक्रिय लगानीकर्ताका अनुसार आगामी चुनावभन्दा अगाडि नै बजारले नयाँ विन्दु चुम्ने प्रशस्त आधारहरू छन् । ‘चुनावको समयमा जहिल्यै पनि शेयरबजार बढेको इतिहास छ । यसपटक बजारको प्रवृत्ति हेर्दा पहिलेको भन्दा फरक छ । आगामी चुनावअगावै बजारले नयाँ विन्दु चुम्छ,’ उनले भने ।
निर्वाचनको इतिहास हेर्दा नेप्से परिसूचकको वृद्धि मिश्रित छ । २०६४ मा सम्पन्न संविधान सभाको पहिलो निर्वाचन, २०६४, संविधान सभाको दोस्रो निर्वाचन २०७० र २०७४ सालमा सम्पन्नका स्थानीय तह, प्रदेश र संघको निर्वाचनलाई हेर्दा नेप्से परिसूचकको वृद्धि र घटाइ मिश्रित देखिएको छ ।
२०६४ र २०७० सालमा सम्पन्न निर्वाचनको समयमा नेप्से परिसूचक बढेको थियो ।
चारओटा निर्वाचनमा
२०७० सालको निर्वाचनको १ महीना अगाडिको र १ महीनापछिको परिसूचक हेर्दा ३७ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै २०६४ सालको निर्वाचन हुनुभन्दा १ महीनाअगाडि र १ महीनापछिको अवधिमा ४ प्रतिशतले परिसूचक बढेको थियो । २०७४ सालमा सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनको समयमा भने परिसूचक ७ प्रतिशतले घटेको देखिन्छ ।
२०६४ सालपछि भएका निर्वाचन र शेयरबजार
नेपालको नयाँ संविधान जारी भएपछि २०७४ सालमा पहिलोपटक स्थानीय, प्रदेश र संघको निर्वाचन विभिन्न चरणमा सम्पन्न भएको थियो । संघ तथा प्रदेश सभाको निर्वाचन मङ्सिर १० र २१ गते सम्पन्न भएको थियो । मङ्सिर १० गतेभन्दा १ महीना अगाडिको र मङ्सिर २१ गतेभन्दा १ महीना पछाडिका परिसूचक हेर्दा ७ प्रतिशतले घटेको देखिन्छ । संघ र प्रदेशको पहिलो चरणको निर्वाचन हुनुभन्दा १ महीनाअगाडि बजार १५५३ विन्दुमा थियो भने दोस्रो चरणको निर्वाचनपछि परिसूचक १२१ अंकले घटेर १४३१ विन्दुमा झरेको थियो ।
त्यसैगरी २०७४ सालमा भएको स्थानीय तहको विभिन्न चरणको निर्वाचनलाई हेर्दा बजार घटेकै देखिन्छ । २०७४ सालको स्थानीय तहको पहिलो चरणको निर्वाचन २०७४ वैशाख ३१ गते हुनुभन्दा १ महीना अगाडिको तथ्यांक हेर्दा बजार १६९७ विन्दुमा थियो । स्थानीय तहको तेस्रो चरणको निर्वाचन २०७४ असोज २ गते सम्पन्न भएपछिको १ महीनापछि कात्तिक २ गतेको परिसूचक १२५ अंकले घटेर १५७१ विन्दुमा झरेको थियो ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनभन्दा १ महीना अगाडि र तेस्रो चरणको निर्वाचनपछिको १ महीनापछि परिसूचक ७ प्रतिशतले नै घटेको थियो ।
संविधान सभाको पहिलो निर्वाचनमा परिसूचक ४ प्रतिशतले बढेको थियो भने संविधान सभाको दोस्रो निर्वाचनमा भने बजार ३७ प्रतिशतले वृद्धि भएको थियो । संविधान सभाको पहिलो निर्वाचन २०६४ चैत २८ गते हुँदाको १ महीना अगाडि बजार ७४१ विन्दुमा थियो । निर्वाचन भएको १ महीनापछि वैशाख २९ गते बजार ७७३ विन्दुमा पुगेको थियो ।
२०७० सालमा सालमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचन २०७० मङ्सिर ४ गते सम्पन्न भएको थियो । चुनाव भएको १ महीनाअगाडिको तथ्यांक हेर्दा बजार ५८८ विन्दुमा थियो । चुनाव भएको १ महीनापछि परिसूचक ८०६ विन्दुमा पुगेको थियो । यो निर्वाचन हुनुभन्दा १ महीनाअघिको तुलनामा निर्वाचन भएको १ महीनापछि परिसूचक २१८ अंकले वृद्धि भएको थियो ।
आगामी चुनावमा पनि बजार बढ्नेमा लगानीकर्ताहरू ढुक्क छन् । निर्वाचनको समयमा बजार बढ्ने निश्चितजस्तै भएकाले कमजोर वित्तीय विवरण भएका कम्पनीको शेयर विक्री गरेर वित्तीय विवरण राम्रो भएका कम्पनी छनोट गर्न सके अधिकांश लगानीकर्ताले फाइदा लिन सक्ने सक्रिय लगानीकर्ता तथा नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए ।
निर्वाचनमा पैसा बजारमा आउने र बैंकहरूमा तरलता बढ्ने भएकाले पनि त्यसको प्रत्यक्ष प्रभाव शेयरबजारमा पर्ने उनको भनाइ छ । ‘शेयरबजार लगानीकर्ताको मनस्थितिमा चल्ने भएकाले निर्वाचन हुँदा बजारमा पैसा धेरै आउने र त्यो पैसा शेयरबजारमा आउने हुँदा बजार बढ्छ,’ उनले भने ।
निर्वाचनको समयमा बजारले नयाँ उचाइ लिने नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको पनि विश्वास छ । ‘निर्वाचन हुनु भनेकै खर्च बढ्नु हो । तरलता अभाब हुँदैन । पैसा चलायमान हुन्छ । चुनावी क्रममा भएको त्यो खर्च घुमिफिरी शेयरबजारमा नै आउने पक्का छ,’ उनले भनिन् ।
शेयर लगानीकर्ता माधव पाण्डे पनि निर्वाचनको समयमा बजार उच्च विन्दुमा पुग्ने विश्वास व्यक्त गर्छन् । उनका अनुुसार निर्वाचनले मात्र नभएर ब्याजदरका कारणले पनि बजार बढ्ने निश्चित छ । ‘बजार बढ्नु चुनाव मात्र प्रमुख कारण हैन । चुनावले गर्दा बजारमा प्रसस्त पैसा आउने र बैंकको ब्याजदर घट्ने हुँदा त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन्छ,’ उनले भने ।