चितवन । नवलपुरको गैंडाकोट नगरपालिका–२ शिलान्यास चोकमा ११ करोड रुपैयाँ लगानीमा होटल ताज महल एभरेष्ट सञ्चालनमा आएको छ । जापानमा १९ वर्षदेखि होटल व्यवसाय गर्दै आएका भरतपुरका यमलाल सापकोटाले होटल मुन स्टारलाई नयाँ व्यवस्थापनसहित होटल ताज महल एभरेष्टको नामबाट सञ्चालनमा ल्याएका हुन् ।
पाँच कठ्ठा क्षेत्रफलमा रहेको होटलमा विवाह तथा सेमिनारका लागि एक हजार र जन्मदिन तथा बैठकका लागि २० जनाको क्षमता भएका एसीसहितका दुईओटा हल छन् । एकपटकमा ६० जनासम्मलाई खाना खुवाउन सक्ने क्षमताको रेस्टुराँ र २२ ओटा एट्याच रूम रहेको सञ्चालक सापकोटाले बताए । होटलमा विभिन्न सुविधा थप्न थप दुई करोड लगानी गर्न लागिएको उनले जानकारी दिए । मौलाकालिका मन्दिर नजिक रहेको र केबलकार सञ्चालनको तयारी भइरहेकाले होटलमार्फत यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।