काठमाडौं । नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको शुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था शुरू गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी गराएको छ ।
महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार धेरै नागरिक यस प्रविधिबारे जानकार नभएकाले पनि सोचेअनुरूप अनलाइनमार्फत कर असुल हुन नसकेको हो । ‘यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ, तर यसबारे जानकारी नहुँदा अझै पनि धेरै करदाता कार्यालयमा नै आएर कर तिर्ने गरेका छन्,’ डा अधिकारीले भने । कर खाताबाटै सीधै तिर्नका लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता संकेत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधिको प्रयोग गरी कर तिरको भए रसिदबाट समेत करतादा संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिनेछ ।
चालू आर्थिक वर्षको असोजदेखि अहिलेसम्मा महानगरपालिकाले यस प्रविधिको प्रयोग गरी १५ लाख रकम असुल गरेको छ । यो रकम कम हो । राजस्व असुली अनलाइन प्रणालीमार्फत भर्खर शुरू गरेको महानगरपालिकाले नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रका लगि भने विगत तीन वर्षदेखि नै अनलाइन प्रणालीमार्फत काम गर्दै आएको छ । रासस