काठमाडौं । सरकारले यस वर्ष उखुको समर्थन मूल्य लागतभन्दा थोरै तोेकेको भन्दै उखु उत्पादक किसान असन्तुष्ट बनेका छन् । ढुवानी खर्च र मजदूरको ज्याला समेत बढेको अवस्थामा उखुको खरीद मूल्य भने कम तोकिएकाले लागत समेत नउठ्ने गुनासो किसानको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको छ । यो मूल्यमा उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफा जोडिएको सरकारले बताएको छ । साथै सरकारले दिने ७० रुपैयाँ अनुदानसमेत जोडेर कुल खरीद मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ तोकिएको छ ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्य गतवर्षको भन्दा २० रुपैयाँ मात्र बढी छ । तर यसबीचमा ढुवानी भाडा दुई गुणा पुगेको किसानको भनाइ छ । उखु किसान संघर्ष समिति सर्लाहीका संयोजक राकेश मिश्रले एक वर्षमा उखु ढुवानीको भाडा र मजदूर खर्च दुई गुणा पुगिसकेको बताए । उनका अनुसार अहिले उखुको लागत नै प्रतिक्विन्टल ५५० रुपैयाँभन्दा बढी छ । यस हिसाबले किसानलाई उखुबाट प्रतिक्विन्टल ६० रुपैयाँ मात्र नाफा छ ।
‘एक क्विन्टल उखु उत्पादन गर्न वर्षभरि हाम्रो कति मेहनत लाग्छ ? सरकारले हाम्रो मेहनतको मूल्य किन जोड्दैन ?’ उनले भने, ‘वर्षभरि मेहनत गरेर ६० रुपैयाँ मात्र नाफा हुने हो भने किसानले किन उखुखेती गर्नुपर्यो ?’
किसानलाई हतोत्साहित बनाएर स्वदेशी चिनी उद्योग तथा उत्पादन धराशयी बनाउने सरकारको नियत रहेको उनले आरोप लगाए । ‘किसानलाई थाहै नदिई उद्योगी र सरकारको मिलेमतोमा सिंहदरबारको कोठाभित्र मूल्य तोकिने परम्पराको अन्त्य नभएसम्म किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन्,’ उनले भने ।
सरकारले मूल्य निर्धारण गर्नुअघि नै उखु उत्पादक संघले कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूसँगको बैठकमा उखुको खरीद मूल्य कम्तीमा ७०५ रुपैयाँ तोकिनुपर्ने सुझाव दिए पनि त्यसको सुुनुवाइ नभएको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । सरकारले मनोमानी ढंगले उखुको मूल्य तोकेर किसानमाथि ठूलो अन्याय गरेको आरोप उनको छ । कृषि मन्त्रालयले भने किसानको मेहनत, लागत र ढुवानी खर्च सबै पक्षको वैज्ञानिक तरीकाले अध्ययन गरेर मात्र खरीद मूल्य निर्धारण गरिएको बताएको छ । सरकारले किसानको हितमा हुनेगरी मूल्य निर्धारण नगर्नु, उद्योगीले समयमै किसानको पैसा भुक्तानी नगर्नु, रासायनिक मलको अभाव र उत्पादन बढी हुने जातको उखुको बीउ उपलब्ध नहुनु जस्ता कारण पछिल्लो समय उखुखेतीप्रति किसानको आकर्षण घट्दै गएको छ ।
माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।
खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।
बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।
पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।
कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् ।
पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् ।
पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।
पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।
रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् ।
१०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस
भ्दौ ३१, स्याङ्जा । कोभिड–१९ ले धेरै कुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ । कोरोना संक्रमणका कारण धेरैको रोजगारी गुम्नाका साथै आर्थिक अवस्था खस्कँदो अवस्थामा भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव बढ्दै गएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका गाउँघरमा फर्किनाका साथै लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएपछि फुर्सदको समयलाई गाउँघरमा बाँझो रहेको जमिनमा खेतीपाती गरेर सदुपयोग गर्दा उत्पादनमा वृद्धि हुँदै जान थालेको छ ।
किसानका लागि बढी मेहनत लाग्ने कोदो खेतीमा यस वर्ष वृद्धि भएको छ । मेहनत बढी लाग्ने र उत्पादन कम हुने भन्दै विस्तारै कम हुँदै गएको कोदो खेतीको यस वर्ष वृद्धि भएको हो । स्वास्थ्यका लागि निकै राम्रो र पोसिलो मानिएको कोदो लगाउनका लागि बढी मेहनत गर्नुपर्ने तथा उत्पादन सोचे जति राम्रो नहुने भन्दै केही वर्षदेखि कम मात्रामा लगाउने गरिएको थियो ।
किसानले यस वर्ष भने कोरोना संक्रमणका कारण बाहिर काममा भएका परिवारका सदस्यसमेत खेतीबाली लगाउने समयमा घरमै हुँदा काम गर्ने जनशक्ति प्रसस्त भएकाले गाउँघरमा त्यसै बाँझो रहेको बारीमा समेत कोदो खेती गरेकाले यो खेती विस्तार गरिएको हो ।
कोदो खेतीका लागि मेहनत बढी लाग्ने भए पनि स्वास्थ्यवर्द्धक खाद्य बालीका रुपमा रहेको कोदो खेतीमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका प्रमुख विनोद हमालले बताए ।
किसानले यस वर्ष १६ हजार ५०० हेक्टर क्षेत्रफलमा कोदो खेती गरेको उनले जानकारी दिए । अन्य खेती बालीलाई बाँदरले बढी खाएर क्षति पुर्याउने भए पनि कोदो खेतीमा बाँदरले समेत कम क्षति पुर्याउने भएकाले गत वर्षको तुलनामा यस वर्ष किसानले धेरै जमिनमा कोदो लगाएको बताए ।
हमालले भने, ‘मकै, गहुँलगायतका बालीमा बाँदरका साथै जंगली जनावरले बढी क्षति पु¥याउने भएकाले यो खेतीमा बाँदरले पनि त्यति धेरै क्षति पु¥याउँदैन, कोदो खेतीमा वृद्धि भएको छ, यो खेती बढ्नुमा कोरोना संक्रमणका कारण जनशक्तिको समेत अभाव नभएकाले परिवारका सदस्य जम्मा भएको समयलाई समेत किसानले सदुपयोग गरेको देखिन्छ ।’ गत वर्षको तुलनामा यस वर्ष जिल्लामा उत्पादन वृद्धि हुनेसमेत उनले बताए ।
आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ४०७ हेक्टर जमिनमा कोदो खेती गरिएकामा आव २०७८/०७९ मा १६ हजार ५०० हेक्टर जमिनमा कोदो खेती लगाइएको छ । गत वर्ष १८ हजार ४७ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्षको तुलनामा यस वर्ष कोदोको उत्पादन वृद्धि हुने अनुमान ज्ञान केन्द्रको छ ।
यस वर्ष १८ हजार १५० मेट्रिक टन कोदो फल्ने अनुमान रहेको प्रमुख हमालले बताउनुभयो । गत वर्ष रैथाने बाली उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत कोदोको बीउ, सिँचाइ, व्यवस्थापनलगायतमा किसानलाई सहयोग गरेको र यस वर्ष पनि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गरिने कार्यक्रम रहेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।
गाउँघरमा कोदोको परिकारमा त्यति धेरै चासो नदिए पनि सहर बजारमा भने यसको माग बढ्न थालेको पाइन्छ । पर्यटकीय गाउँहरुमा त कोदोको परिकारले पर्यटकको स्वागत गर्ने क्रम बढ्दै गएको पाइन्छ । गाउँ घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन कोदोको परिकारले स्वागत गर्ने गरेको कालीगण्डकी गाउँपालिका–६ मा रहेको प्रगति मैदान चोहानथोक होमस्टेका सल्लाहकार हीराबहादुर गाहाले बताए ।
अन्य बालीको समस्या लिएर किसान ज्ञानकेन्द्रमा पुग्ने गरे पनि कोदो बालीमा कुनै समस्या तथा गुनासो नआउने गरेको केन्द्रको भनाइ छ । पछिल्लो समय बजारीकरणले गर्दा गाँउघरका कोदो खेती हुने बारी बाँझै हुन थालेका छन् । अन्य बालीको तुलनामा कोदोलाई धेरै मेहेनत चाहिने, आवश्यक जनशक्ति पनि नपाउने कारण अन्य बालीको तुलनामा कोदो खेती भने कम नै हुने गरेको छ । रासस
जेठ २७, दैलेख । पछिल्लो समय स्थानीय रैथाने जातका धान रोप्न छाडेर किसानले उन्नत जातका धान रोप्न थालेका छन् । दैलेख जिल्लाका अधिकांश खेतमा किसानले पुरानो रैथाने जातका धान डेरादुने, झ्याले, भुरसाले, गुणे र कालेगुणे लगायतका रोप्ने गर्दथे ।
पछिल्लो समय किसानले यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् । नारायण नगरपालिका–२ का किसान हरि थापाले रैथाने धान रोप्न छाडेको दुई वर्ष भएको बताए ।
पहिले स्थानीय जातको धान लगाउने भए पनि आफूले अहिले छाडेको बताए । उनले पुरानो धान कम फल्ने अनि मेहनत बढी गर्नुपर्ने भएकाले उन्नत जातको धान लगाउने गरेको जानकारी दिए ।
पछिल्लो समय रैथाने जातका धान लगाउनेको संख्याभन्दा उन्नत जातको धान लगाउनेको संख्या ह्वात्तै बढेको छ । कम सिँचाइमा धेरै उत्पादन हुने र गोड्न पनि नपर्ने हुँदा पुरानो धानभन्दा उन्नत जातका धान लगाउनतर्फ किसानको आकर्षण बढेको किसान ललित रिजालले बताए ।
महाबु गाउँपालिकाका कृषि प्राविधिक सूर्य न्यौपानेले स्थानीय जातको धानमा उत्पादन बढाउन नसक्नु, यसको फाइदाबारे जानकारी गराउन नसक्नु र संरक्षणमा ध्यान दिन नसकेका कारण लोप हुने खतरा बढेको बताए । अहिले किसानले युएस–३१२, युएस–३०५, युएस शंकरलगायतका उन्नत जातका धान बजारबाट खरीद गरी लगाउने गरेका छन् । आफ्नो पसलबाट मात्रै ४० क्विन्टल बीउ विक्री गरेको किसान एग्रोभेट दैलेखका सञ्चालक कनक खड्काले जानकारी दिए ।
दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायतका सेराखेतमा रैथाने गुणे र कालो गुणे लगाइने भए पनि यस वर्ष त्यहाँ पनि किसानले रैथाने जातका धान नलगाउने सम्भावना बढेको भण्डारीले आशंका व्यक्त गरे ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डे रैथाने बाली प्रवर्द्धनका लागि अनुदानसमेत दिने गरिएको बताउँछन् । ‘किसानको पुरानो धान खेतीमा आकर्षण नहुनु भनेको प्रवर्द्धन गर्न नसक्नु नै हो, सबैभन्दा उत्पादन कम हुनु हो, यसका लागि अरुभन्दा किसान नै बढी लाग्नुपर्छ’, उनले भने ।
जिल्लाको कुल खेतीयोग्य जमिन ४१ हजार १३१ हेक्टर रहेको छ भने त्यसमध्ये छ हजार ५१७ हेक्टर जमिनमा धानखेती गर्ने गरेको पाण्डेले जानकारी दिए । अहिले ६० प्रतिशत किसानले उन्नत जातका धान रोप्ने आँकलन गरिएको छ । रासस