फागुन १६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा ४ वर्ष अगाडी स्थानीय ५ जना युवा कृषक मिलेर ५०० रोपनी जग्गामा ७ करोड लगानी गरी सञ्चालन गरेको कृषि फार्म यतिखेर सुनसान छ ।
अघिल्लो वर्षहरुमा यो समय उनीहरुलाई कामको चटारो पर्ने गर्थ्यो । किवी रोप्ने, आलु खन्ने, गोलभेडा, सागजस्ता नगदेवाली रोप्न व्यस्त रहने कृषकहरु अहिले हात बाँधेर बसिरहेका छन् । ‘हाम्रो फर्मले किवी खेतीलाई प्राथमिकता दिएको थियो, परिस्थिति सहज भएको भए हामी अहिले किवी रोप्ने र त्यसको स्याहार सुसारमा व्यस्त हुन्थ्यौं’, हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लाक्पा लामाले भने ‘आलु खन्ने, साग, गोलभेडा लगाउने काम हुन्थ्यो । यो वर्ष केहि गरिएको छैन ।’
गएको असार १ गते आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रलाई तहसनहस बनाएपछि सो क्षेत्रको कृषि व्यवसाय प्रायः ठप्प छ । बाढीका कारण ककनीसम्म जोडिएको सडक अबरुद्ध भई यातायात सेवा सहज हुन नसकेको कारण यो वर्ष फर्ममा बाली लगाउन नसकिएको लामाले बताए ।
‘बाटो छैन, फर्ममा उत्पादन भएको तरकारीहरु बेच्न सकिएन । गाउँमा कति पो बेच्नु । अघिल्लो पटक पूरै घाटा भयो ।
त्यहि भएर सडक सञ्जाल नजोडिएसम्म खेती नगर्ने विचार गरेका छौं,’ उनले भने । बाढीपछि फार्ममा उत्पादन भएको तरकारीहरु बेच्न नपाएको र फार्ममा नै कुहिएर गएको उनले बताए । ‘आलु, गोलभेडाहरु अलिअलि गाउँमै बेचियो, अरु त कुहिएर खेर गयो’, उनले भने ‘एकै पटक ठूलो मात्रामा घाटा भयो ।’
बाढी अघिको वैशाखमा परेको असिनाले आधिभन्दा बढी किवीका बिरुवा समेत नष्ट भएको उनले बताए । ‘सुरुवातमा हामीले २०० ओटा किवीका विरुवा रोपेका थियौं’, उनले भने ‘किवी राम्रो हुँदै गएपछि त्यसलाई बढायौं । तर वैशाखमा परेको असिनाले किवीको बिरुवालाई असर पु¥यायो । अहिले ३०० को हाराहारीमा मात्रै किवी होलान् ।’ केहि प्रकोप नभए अर्को वर्षदेखि किवीले पनि फल दिने र यातायात पनि सहज हुनेमा उनी आशावादी छन् ।
‘अब केहि नभए अर्को साल किवीले पनि फल दिनेछ, यातायात पनि सहज होला’, उनले भने ‘त्यसपछि हामी पुनः फर्मलाई गति दिनेछौं । अहिले दुःख गर्यो, उत्पादन भएका तरकारी, फलफुल विक्री गर्न मुस्किल छ, खेरै फाल्न त किन दुःख गर्नु भनेर यसपाली केहि गरिएन ।’ दुःख गरी कमाएको रकम फार्ममा लगानी गरेको कारण त्यो पनि डुब्ला कि भन्ने उनीहरुलाई चिन्ता भएको लामाले बताए ।
सुरुवाती चरणमा लाक्पा र उनको समूहले करीब ५०० रोपनीमा खेती शुरु गरेका हुन् । ५०० वर्ग मीटरको ग्रीन हाउस र १८ ओटा टनेल निर्माण खेति गरेका थिए । अनुभवको कमीको पहिलो वर्ष भने खेतीबाट घाटा लागेको बताउँदै लाक्पा भन्छन् ‘नयाँ माटो र मलको उचित प्रवन्ध गर्न नसक्दा र नजान्दा पहिलो वर्ष लगानी पनि उठेन’, त्यसपछि कोरोना माहामारी, असिना पानी, बाढी पहिरोले हामी त पुरै घाटामा छौं ।’
उनीहरुले फार्ममा बालीनालीको रेखदेखका लागि एक जना जेटिए नै राखेको थिए । नियमितरुपमा ६ जनालाई र आवश्यकता अनुसार ४०/५० जनालाई रोजगारी पनि दिएका थिए ।
फार्ममा स्थानीय विद्यालयका विद्यार्थीलाई पनि समावेस गराउने गरेका थिए । ‘हामीले व्यवसायिक रुपमा कृषि खेती गर्न शुरु गरिसकेका थियौं’, लामाले भने ‘विद्यालयदेखि नै कृषिको व्यवहारिक अभ्यास होस् भनेर विद्यालयसँगको सहकार्यमा त्यहाँ अध्ययनरत विद्यार्थीलाई खेतीपातीमा सहभागि गराउँदै पनि आएका थियौं । तर अहिले फार्म नै शून्य छ ।’
गाउँका युवाहरु विदेशिन गरेको र कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र हेलम्बु सुनसान हुन थालेपछि लाक्पा लगायतका युवा मिलेर सामूहिक रुपमा खेती गरी आन्तरिक पर्यटक भित्र्याउने अभियानका रुपमा कृषि शुरु गरिएको उनीहरुको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न अर्गानिक कृषिसँगै रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनीहरु हेलम्बु–मेलम्ची बाढी पछि के गर्ने के नगर्ने भन्ने दोधारमा छन् ।
‘हामीले कृषिसँगै पर्यटकहरुलाई आकर्षित गर्न रिसोर्ट पनि सञ्चालन गर्न लागेका थियौं । संरचनाहरु पनि बन्दै थिए, तर अहिले त्यो योजना पूरा गर्न पाएका छौनौं’, लामाले भने ‘मुख्यतः यातायात सहज भइदिए हामी पुनः यो काम शुरु गर्ने थियौं ।’ सरकारले बाढीले बिगारेको सडक तत्काल बनाइदिए र भत्किएका पुलहरुको पुनर्निर्माण गरे करोडौं लगानी गरेको आफूहरु जस्ता किसानलाई केहि राहत पुग्ने उनले बताए ।
स्थानीय सरकारले पनि केहि गर्छौ भनेर कृषि क्षेत्रमा लागेका आफूहरु जस्ता कृषकलाई महत्व नदिएको उनको गुनासो छ । ‘यत्रो विपद् पर्यो, हामीले गरेको यत्रो लगानी डुब्ने खतरामा छ । यति हुँदा पनि स्थानीय सरकारले भने केहि चासो दिएको छैन ।
केहि राहतको कार्यक्रम ल्याएको छैन’, उनले भने । स्थानीय सरकारले कृषि उत्पादनहरुको बजारीकरणमा सहयोग पुर्याउने र तत्काल सडक समस्या जस्ता कृषकको समस्याहरुलाई समाधान गर्ने हो भने हेलम्बु क्षेत्र कृषिकै माध्यमबाट विस्तारै लयमा फर्कने उनले बताए ।