नारायणगढ–मुग्लिन सडकखण्ड पुनः निर्माणको काम सकिएको वर्षौंपछि त्यस सडकमा रहेका १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको छ । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माणमा ढिलाइ भइरहेको थियो ।
सरकारले पुल निर्माणका लागि कानुनी अड्चन खुला गरेर गत वर्षको चैत १० गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि अहिले पुल निर्माणको प्रक्रिया सुरु भएको सडक विभाग पुल महाशाखाका निर्देशक दीपक भट्टराईले जानकारी दिनुभयो । उहाँले ढिलै भए पनि प्रक्रिया सुरु भएको छ । अहिले पुलको निर्माणका लागि ठेक्का भई डिजाइन निर्माणको काम भइरहेको छ भन्नुभयो । पुलको डिजाइन बनेपछि विभागले स्वीकृति दिएसँगै पुल निर्माणको काम सुरु हुनेछ ।