दाङ । दाङका दुई स्थानीय तहका सात वडालाई जडीबुटीको पकेट क्षेत्रको रूपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका वडा नं १ देखि ५ सम्मलाई जडीबुटी पकेट क्षेत्रको रूपमा विकास गर्न थालेको हो ।
स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गएको जमीनको सदुपयोग गर्ने, मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर व्यावसायिक रूपमा जडीबुटी उत्पादन गर्ने उद्देश्यले पकेट क्षेत्र नै घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले बताएको छ ।
सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजारभन्दा बढी जडीबुटीका बिरुवा रोपिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउद्देश्यीय सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ ।
२०७५ सालमा पकेट क्षेत्र घोषणा गरी जडीबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडीबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ ।
यस वर्ष ७१ हजार ३० र गतवर्ष ७५ हजारभन्दा बढी जडीबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । २ वर्षको अवधिमा करीब ७०० किसान जडीबुटी खेतीमा आबद्ध भएको उनको भनाइ छ ।
दाङमा जडीबुटीका बिरुवा रोप्ने किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको छ । विशेषगरी जिल्लाका पहाडी भेगमा जडीबुटीका बिरुवा रोपेका किसानलाई प्रोत्साहनबापत रकम वितरण गर्न शुरू गरिएको हो । डिभिजन वन कार्यालयको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बंगलाचुलीका करीब ६०० किसानलाई प्रोत्साहन रकम वितरण गरिँदै छ ।
सहकारीमार्फत पकेट क्षेत्रमा जडीबुटी विस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका गरी सात वडामा ७० हजारभन्दा बढी बिरुवा रोपिएको छ । त्यसमध्ये घोराहीका वडा नं १८ र १९ तथा बंगलाचुलीका वडा नं १, २, ३, ४ र ५ मा टिमुर, मालागेडी तथा दालचिनीका बिरुवा रोपिएको छ ।
बिरुवा रोपेका किसानलाई प्रतिबिरुवा ३ रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिने संस्थाका अध्यक्ष धु्रवराज पौडेलले जानकारी दिए । रासस