विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई दम्पतीको बैंक खातामा ८६ लाख रुपैयाँभन्दा बढी रहेको खुलेको छ । मुख्यमन्त्री राईले पेश गरेको सम्पत्ति विवरणमा उक्त नगद बचतमा रहेको उल्लेख गरेका छन् ।
मन्त्रीहरूले पेश गरेका सम्पत्ति विवरणमा सबैभन्दा कम मुख्यमन्त्रीकै देखिएको छ । मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त पाँच आना जग्गा रहेको विवरण पेश गरेका छन् । त्यस्तै श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार र आफ्नो नाममा दुईओटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि उल्लेख गरिएको छ ।
यसैगरी प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको मोरङका विभिन्न ठाउँमा ११ ओटा घडेरी देखिएको छ । बुढीगंगा गाउँपालिका–२ स्थायी घर भएका कार्कीले विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा जोडेका छन् । तर ती घडेरी पत्नी शान्तादेवी बस्नेतको नाममा छ । कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनकी पत्नी कृषि विकास बैंकमा जागिरे छिन्
उनको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ ओटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ । कार्कीको बैंकमा बचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि विकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पसल, जलविद्युत् आयोजना र बंगुर फार्ममा लगानी गरेको पाइएको छ उनले आफ्नो २ करोड ९० लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेका छन् । आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङखोला हाइड्रोमा १० प्रतिशत शेयर छ । आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख छ । यस्तै मन्त्री आङ्बोसँग १० तोला सुन र २० तोला चाँदी पनि छ ।
भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले करिब साढे ९ बिघा जग्गा रहेको विवरण पेश गरेका छन् । कृषि विकास बैंकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ । उनको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ बिघा ८ कट्ठा जग्गा छ । जग्गाको स्रोत पैतृक सम्पत्ति उल्लेख गरेका कार्कीले बचत रकम तलब भत्ताबाट प्राप्त भएको उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन, ३० तोला चाँदी, दुईओटा भैंसी, कुखुराको फार्म र तीनओटा माछा पोखरी पनि छन् ।
यसैगरी सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौंमा घर रहेको विवरण पेश गरेका छन् । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंका आठ स्थानमा उनको जग्गा रहेको छ । मन्त्री यादवसँग ५१ तोला सुन र ३ किलोग्राम चाँदी छ । उनले सप्तकोशी पोल्ट्री फार्ममा २५ लाख शेयर लगानी गरेका छन् । इटहरीको कञ्चनजंघा बोर्डिङ स्कुलमा उनको २१ लाख लगानी छ । त्यसबाहेक उनले विभिन्न आठओटा कम्पानीको शेयर किनेका छन् ।
सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी छ । घडेरीको स्रोत श्रीमान्ले अमेरिकामा गरेको कमाइ उल्लेख गरेकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गरेकी छन् ।