विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । कुल रू. २ करोड ५९ लाखको लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए । अस्पताल सञ्चालन भएपछि सरकारले दरबन्दीअनुसारको स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
सोही नगरपालिकाको वडा नं ५ स्थित १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि निर्माण व्यवसायीसँग रू. ९ करोड ९९ लाख ३६ हजारको लागतमा सम्झौता भई निर्माण कार्य शुरू गरिएको जनाइएको छ ।
यसैगरी कृषिउपजलाई बजारीकरण गरी कृषकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वडा नं ४ स्थित कृषि हाटबजार निर्माणको अन्तिम चरणमा पुगेको छ । सो कार्यका लागि रू. ३ करोड २० लाख १६ हजार लागतमा ठेक्का भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी ब्लक रहेको यो नगरपालिकामा कृषकका तरकारी बजारसम्म पुर्याएर उपभोक्ता माझसम्म लैजान सुविधा हुने नगरपालिकाका प्रमुख शङ्कर राईले बताए ।
स्थानीय तहको निर्वाचनपछि हालसम्म २० दशमलव ९३ किमी बाटो नयाँ ट्र्याक निर्माण, ३९ दशमलव ५२ किमी बाटोमा ग्राभेल र १६ दशमलव नौ किमी बाटोमा कालोपत्र, तीनओटा सामुदायिक भवन निर्माण र १ दशमलव ५ किमी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको पनि प्रशासकीय अधिकृत दाहालले जानकारी दिए । रासस