नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धानखेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भए पनि उत्पादनमा एक हजार ३७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिए । लामिछानेका अनुसार यस वर्ष जिल्लामा २० हजार ५८० हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ८२ हजार ९४४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष २० हजार ६७० हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीबाट ८१ हजार ५७० मेट्रिक टन उत्पादन भएको थियो ।
‘नवलपुरमा गतवर्षको तुलनामा यस वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ । तर, उत्पादकत्व भने बढेको देखियो छ,’ उनले भने, ‘धान लगाउने बेलामा समयमै पानी पर्नु, प्रांगारिक मलको प्रवद्र्धन, माटोको गुणमा सुधार आउनुलगायत कारण यस वर्ष जिल्लामा धानको उत्पादन बढेको हो ।’ जिल्लाको धानखेती गरिएको कुल क्षेत्रफलमध्ये ५५ प्रतिशतमा सिँचाइ सुविधा उपलब्ध भएको उनले जानकारी दिए । जिल्लामा कुलो, बोरिङ, ट्युबेललगायतबाट धानखेतीमा सिँचाइ हुने गरेको उनले बताए ।
जिल्लामा बढेको प्लटिङ, तरकारी खेतीतर्फ किसानको आकर्षणजस्ता कारणले धानखेतीको क्षेत्रफलमा कमी आएको प्रमुख लामिछानेले बताए । ‘यहाँका किसान पछिल्लो समय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्,’ उनले भने, ‘त्यस्तै बढ्दो सहरीकरणसँगै बजार क्षेत्रका खेतीयोग्य जमिनमा प्लटिङ हुन थालेपछि पनि धान लगाउने क्षेत्रफल घटेको हो ।’
मुख्यगरी जिल्लाको दक्षिणी भागमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा सावित्री, सावा मन्सुलीसहित वर्णसंकर जातका धान उत्पादन हुने गरेको छ । नवलपुरकोको कुल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ । यसमध्ये करिब ३१ प्रतिशत जमिनमा मात्रै धानखेती हुँदै आएको प्रमुख लामिछानेले बताए । ‘खेतीयोग्य जमिन धेरै भए पनि सबैमा धानखेती हुन सकेको छैन,’ उनले भने, ‘धानबाहेक यहाँ मकै, व्यावसायिक तरकारी, कोदो, केरालगायत खेती हुने गरेको छ ।’
जिल्लामा धान खेती विस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले धानखेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ । रासस